झापा । बिर्तामोड नगरपालिकाको ‘नगर गौरव’को आयोजनाका रूपमा रहेको बुट्टावारी प्याकुरेल चौक सडक खण्डको स्तरोन्नतिका लागि शिलान्यास भएको छ । बुट्टावारीमा आयोजित समारोहकाबीच ६ दशमलव २ किलोमिटर लम्बाई रहेको सडकको शिलान्यास भएको हो । बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतारा प्रसाईले सडक शिलान्यास गर्दै सो सडक नगर गौरवको आयोजनाका रूपमा रहेको बताइन् ।
विश्व बैङ्कको ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँको लागतमा निर्माण हुने सो सडक दुई वर्ष भित्र सम्पन्न गर्ने सम्झौता भएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।
१२ मिटर चौडाइ रहेको सो सडकलाई सात मिटरमा ‘ब्लायक टप’ गरिने बताइएको छ । सडकको दायाँ वाँया डेन निर्माण गरिने छ भने सडकको दुवै तर्फ सडक बत्ती, गार्डेन , फुटपाथ रहने छ । सडक निर्माणका लागि आरपी– स्याप– समता जेभीले ठेक्का पाएका हुन् भने परामर्श दाताका रूपमा डिभी–मल्टी – शिल्ट – उदय– गंगा – रिदाग – आरसी जेभी रहेका छन् । सडकले बिर्तामोड ६, ७ र ८ नम्बर वडा जोड्दै सदरमुकाम चन्द्रगढी जाने मूल सडकमा जोड्ने छ । निर्माण हुने सडकका विषयमा नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले प्रकाश पारेका थिए ।
बिर्तामोड नगरपालिका ६ का वडाध्यक्ष सूर्य कन्दङ्वालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुवकुमार शिवाकाटी, नेकपा एमालेका बिर्तामोड नगरप्रमुख सुवास भट्टराई , राप्रपाका जिल्ला उपाध्यक्ष ध्रुव उप्रेती, नेकपा माओवादीका जेवी जवेगू लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका योजना अधिकृत जय तिम्सिनाले गरेका थिए ।
प्रतिक्रिया