विराटनगरमा अबदेखि वडा तहका सबै सिफारिस अनलाइनबाटै

बुधबार, ०३ जेठ २०८०
विराटनगर । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र सहज रुपमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएको छ । महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई–सिफारिस र ई–पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ । महानगरका १९ वटै वडाबाट प्रदान हुने सबै सिफारिस र राजस्व संकलनलाई प्रविधिमैत्री बनाउन लागेको हो । त्यसका लागि १९ वटै वडाका सचिवका लागि महानगरले एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । मेयर नागेश कोइरालाले सेवाग्राहीहरु घरमै बसेर सिफारिस लिन सक्ने वातावरण बनाउन लागेको बताए । उनले जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने सुशासन कायम गर्ने उद्देश्यले सबै सेवालाई प्रविधिमैत्री बनाउन लागिएको जानकारी दिए । “कुनै पनि काम लिएर भरिसक्यो वडा कार्यालय सेवाग्राहीहरु पुग्न नपरोस् भनेर हामीले सेवालाई प्रविधिमैत्री बनाउन लागेका छौं,” मेयर काइरालाले भने, ‘केही वडामा ई–सिफारिस कार्यान्वयनमा आइसकेको छ । अब सबै वडामा छिट्टै कार्यान्वयनमा ल्याउनेछौं ।’ उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि विद्युतीय सुशासनलाई जोड दिएको स्मरण गरिन् । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सेवालाई प्रविधिमैत्री बनाउन सकिए जनतालाई सास्ती नहुने र कार्यालयमा समेत भीडभाड नहुने बताए । महानगरले वडा तहका सिफारिस मात्रै नभएर महानगरका सबै शाखा र महाशाखाका सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने जानकारी दिए । वडामा ई–सिफारिस र ई–पेमेन्ट पूर्ण रुपमा लागू भएपछि अनलाइन सेवा प्रणालीको पक्रियाका विषयमा सार्वजनिक सूचना जारी गरेर महानगरवासीलाई जानकारी गराइने सूचना प्रविधि शाखाकी इन्जिनियर अर्चना कर्णले बताइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार