विराटनगर । पाँचथरको हिलिहाङ गाउँपालिका ७ स्थित मेची राजमार्गमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । घटनामा २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय कमल सुबेदीकी १२ वर्षीया छोरी पुजना र १० वर्षीया गंगा सुबेदी रहेको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आज बिहान सवा ९ बजे हेवाखोलाबाट बालुवा बोकेर जोरपोखरीतर्फ जाँदै गरेको मे १ त २९६१ नम्बरको ट्याक्टरमा चढेर विद्यालयतर्फ जाँदै गरेको अवस्थामा ट्याक्टरबाट लड्दा चक्काले किचिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ११ वर्षीया रेश्मा बराइली र १० वर्षीया सोनिया अधिकारी छन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न ट्रयाक्टर र चालक कुम्मायक पाँचथरका प्रेमबहादुर कामीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया