विराटनगर । मोरङको सुन्दरहरैँचामा कोसी प्रदेश प्रहरी तालिम केन्द्रको प्रशिक्षार्थी प्रहरी ब्यारेक भवन बन्ने भएको छ ।
तालिम केन्द्र परिसर सुन्दरहरैँचा नगरपालिका–९ गोठगाउँमा निर्माण सुरु भएको ब्यारेक भवनको प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बुधबार शिलान्यास गरे ।
नेपाल सरकारको १६ करोड ८० लाख ४३ हजार ९ सय ६० रूपैयाँ लागतमा भवन बन्ने भएको हो । भवन ३ तलाको हुने छ ।
विवश इन्टरनेशनल कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले २ वर्षभित्र बनाइसक्ने गरी निर्माणको जिम्मा लिएको छ ।
३ सय जना क्षमताको भवन निर्माण सम्बन्धी प्रतिवेदन एसपी अनिल रानाले प्रस्तुत गरेका थिए ।
डीआईजी बास्तोलाले भवन निर्माणपछि प्रशिक्षणका क्रममा प्रशिक्षार्थीलाई थप उर्जा मिल्ने बताए । तालिम केन्द्र भौतिक सुविधा सम्पन्न हुँदा तालिमरत प्रशिक्षार्थीको मनोवल उच्च हुने र प्रशिक्षण प्रभावकारी बन्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी राजन अधिकारी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोसीका प्रमुख एसपी श्यामकुमार महतो, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसपी भीमबहादुर दाहाल, सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकाललगायत उपस्थित थिए ।
प्रतिक्रिया