झापा । लिम्बुवान स्वयंसेवकका इन्चार्ज भनी दाबी गरिएका झापा बुद्धशान्तीका एक युवकको नाममा अपहरणको भ्रम फैलाइएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बुद्धशान्ती ३ बालुवाटार चोकमा गत ३१ वैशाखमा भ्रष्टाचार विरुद्धको कार्यक्रमपछि फेसबुक स्ट्याटस लेखेको विषयलाई लिएर नेपाल तरुण दल सम्बद्ध केही मानिसहरूसँग विवादको घटनामा मुछिएका पूर्ण भन्ने शेर बहादुर सुहाङ र उनकै साथी बुद्धशान्ती ४ का फुलबहादुर गौतमलाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार इलामको रोङ गाउँपालिका वडा नं ४ स्थित बिरिङखोलाको पुलमुनि लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
सुहाङ बेपत्ता भएको हुँदा खोजतलास गरी पाउँ भनी निजका बाबुले इलाका प्रहरी कार्यालय धुलाबारीमा १ जेठमा हुलिया निवेदन दिएका थिए । सो लगत्तै २ जेठमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लेटर प्याडमा लिम्बुवान स्वयंसेवक ९एल भी० ईन्चार्ज शेर बहादुर सुहाङलाई सकुशल अपहरण मुक्त गरी दोषीलाई कडा कारबाही गरियोस् भन्ने ब्यहोराको प्रेस विज्ञप्ति समेत जारी भएको थियो ।
घटनालाई गम्भीरतापूर्वक लिएको प्रहरीले तालिम प्राप्त कुकुर समेतको प्रयोग गरी अनुसन्धान गर्दा ३९ वर्षीय प्रेम भन्ने फुलबहादुर दर्जी सँग मिलेमतो गरी पैनी बगरमा आफूले लगाएको टी–सर्ट च्यातेर घडी समेत चुँडाई फालेर भ्रम सिर्जना गरी सम्पर्क विहीन भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनीहरू दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया