बजारबाट कवाडी संकलन केन्द्र हटाउँदै धरान उपमहानगर

विहीबार, ०४ जेठ २०८०
संकलन केन्द्रमा ३५ दिने सूचना धरान । धरान उपमहानगर वडा नम्बर १० ले आफ्नो वडामा रहेका कवाडी संकलन केन्द्रलाई अन्यत्र सार्न सूचित गरेको छ । कवाडी संकलन केन्द्रलाई धरानको बजार र बस्तीभन्दा टाढा राख्ने निर्णय अनुसार धरान १० बाट उक्त कार्यको थालनी गरिएको वडाध्यक्ष विवेक राईले जानकारी दिए । उनका अनुसार स्थानीय छिमेकी, टोल विकास संस्थाका सदस्यहरु लगायतले कवाडी संकलन केन्द्रबाट दुर्गन्ध आउने, होहल्ला हुने भएकोले आवासीय इलाकामा अफ्टेरो भएको भन्दै वडामा गुनासो आएपछि कवाडी संकलन केन्द्र हटाउन लागिएको हो । धरानको वार्षिक नीति तथा कार्यक्रम २०७९ मा नै ‘कवाडी व्यवसायको व्यवस्थापनका निम्ति उपयुक्त खाली स्थान खोजी गरिने’ भनी समेटीएको थियो । त्यसपछि धरानको कार्यपालिका बैठकले समेत वडा ५, ६, ८, १५, १७ र १९ भन्दा अन्यत्र वडाका कवाडी संकलन केन्द्र सार्नुपर्ने निर्णय गरेको थियो । ती वडाहरुमा समेत आवासीय क्षेत्रसँगै रहेका कवाडी संकलन केन्द्रहरु सार्नुपर्ने निर्णय गरेको थियो । १० नम्बर वडामा भने विभिन्न चरणमा छलफल भइ व्यवसायीहरु समेत कवाडी संकलन केन्द्र सार्न सहमत भएका थिए । गत वर्ष असारभित्रमा कवाडी संकलन केन्द्र सार्न सहमति भए पनि अहिलेसम्म नसारेकोले ३५ दिने सूचना टाँस गरिएको वडाध्यक्ष राईले बताए । कवाडी व्यवसायी लीला पोदार र बेचनप्रसाद साहले भने अन्यत्र स्थानमा व्यवसाय सार्न कठिनाइ भइरहेको बताए । उनीहरुले यथावत स्थानमा कवाडी पसल सञ्चालन गर्न नदिइए व्यवसाय बन्द हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । साहले भने ‘यहाँ सूचना टाँसेर हामीलाई हटाउन भनिएको छ, अरुतिर व्यवसाय गर्ने स्थान खोज्न जाँदा पनि फोहोर हुने, होहल्ला हुने भनेर ठाउँ दिन मान्दैनन्, त्यसैले हामीलाई विकल्प दिनुपर्छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार