झापा । एसियाली विकास बैंक (एडीबी) ले ३० करोड अमेरिकन डलर प्रदान गर्ने भएसँगै काँकडभिट्टा–लौकाही सडक विस्तार हुने भएको छ ।
विस्तारित सडक अन्तर्राष्ट्रियस्तरको हुने र उक्त सडकमा ट्राफिक सङ्केत, सडकबत्ती, पैदलमार्ग, प्रकाश प्रणाली, बस बिसौनी, पैदलयात्री क्रसिङलगायत सबै पूर्वाधार हुनेछन् । सडक चार लेनको हुने छ ।
मनिलास्थित बैंकको प्रधान कार्यालयले गत बुधबार ऋण स्वीकृत गरेसँगै पूर्वपश्चिम राजमार्ग बन्ने निश्चित भएको हो ।
एडीबीले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न ३० करोड अमेरिकी डलर ऋण सहयोग गरेको हो ।
भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका लागि एडीबीले ऋण उपलव्ध गराउने निर्णय गरेको हो ।
दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग करिडोरको हिस्साको रुपमा पूर्वपश्चिम राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने बताइएको छ ।
काँकडभिट्टादेखि सुनसरीको लौकही सडक खण्ड अन्तर्गतको ९५ किलोमिटर सडक दुई लेनबाट चार लेनमा विस्तार गरिने छ । यसमा ६ वटा आधुनिक पुल बन्नेछन् । आवश्यक अन्य स्थानमा पनि पुल बनाइने भएको छ ।
त्यस्तै, झापाको चारआली र बिर्तामोड तथा सुनसरीको इटहरीमा ‘अण्डर पास’ निर्माण गरिने छ ।
यो आयोजनासँगै एडीबीले जलवायु परिवर्तन सुधार, सडक परियोजना, पर्फर्मेन्स इन्डिकेटरलगायत प्राविधिक सहयोगका लागि अतिरिक्त साढे सात लाख अमेरिकी डलर सहयोग गर्ने जनाएको छ ।
उक्त सडक बिस्तारका लागि यसअघि नै बोलपत्र आह्वान भएर विभिन्न कम्पनीले निर्माणका लागि प्रस्ताव पत्र समेत दर्ता गरिसकेका छन् ।
हाल पूर्वपश्चिम राजमार्ग अन्तर्गतको दुई लेन (क्यारिजवे) को सडकमा दैनिक १४ हजार सवारी साधन ओहोर दोहोर गर्ने गरेका छन् । सन् २०४१ सम्ममा यो सडकमा ४८ हजार ८ सय सवारी साधन गुड्ने एडीबीको प्रतिवेदनमा उल्लेख छ ।
निर्माण गरिने सडक मध्य भागमा विभाजित हुने छ । शहरी क्षेत्रमा सेवा लेन, फुटपाथ, साइकल लेन, हुने छ ।
परियोजना मार्फत, सुधार ज्यामिति, फुटपाथ, ढल निकास, सडक सुरक्षा, र जलवायु तथा प्रकोपप्रतिरोधी सुविधाहरू सहित बढ्दो यातायातको मागलाई समायोजन गर्न सडकलाई दुई लेनको दोहोरो क्यारेजवेमा स्तरोन्नति गरिने भएको छ ।
सडक निर्माणका क्रममा हिड्ने, साइकल चलाउने वा सार्वजनिक यातायातको प्रयोग गर्ने महिला र बालबालिकालगायत जोखिममा रहेका सडक प्रयोगकर्ताहरूको सुरक्षामा सुधार गर्न जंक्शनहरूमा ग्रेड पृथकीकरण वा ट्राफिक संकेत अपनाइनेछ ।
प्रतिक्रिया