सकियो इलाम बजार खानेपानी आयोजनाको निर्माण कार्य

शनिबार, १३ जेठ २०८०
टीका खतिवडा/इलाम इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को काम सम्पन्न भएको छ । केही समय अघिदेखि परीक्षणको रुपमा खानेपानी वितरण हुँदै आएको आयोजनाको काम भर्खरै सम्पन्न भएको हो । काम सम्पन्न भएपनि सन् २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मत सम्भारको काम गर्नुपर्ने जनाइएको छ । नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता भएर चार वर्षअघि काम सुरु भएको थियो । निर्माण सम्पन्न भएपछि सो आयोजनाको शनिबार अनुगमन गरिएको छ । जिल्लास्थित राजनितिक दल, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायमा प्रमुख, सञ्चारकर्मी तथा उपभोक्ता समितिका पदाधिकारीको टोलीले अनुगमन गरेको हो । आयोजनाको काम ‘रमण कन्ट्रक्सन कम्पनी’ ले ५७ करोड ९५ लाखमा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो । एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा खानेपानी आयोजना सञ्चालन भएको यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । आयोजनामा ५ प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता छ । सुरुमा स्थानीय उपभोक्ताहरुले १५ हजार दुई सय रकम बुझाएका थिए । यसमा इलाम नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसेको छ । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष तथा इलाम नगरपालिकाका मेयर केदार थापाले जानकारी दिए । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड करिब ४३ लिटर पानी आइरहेको छ । आयोजनाका लागि सदरमुकामबाट करिब ३२ किलोमिटरको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको मुहानबाट पानी ल्याइएको हो । आयोजना अन्तर्गत सुरुमा २८ सय ७७ घरमा पानी वितरण गर्ने लक्ष्य लिइएको थियो । पछि थप भएर ३३ सय ४४ घरमा आयोजना मार्फत नै खानेपानी वितरण भएको छ । हाल समेत दैनिक दुई पटक पानी वितरण गरिँदै आइएको निर्माण कम्पनीका इन्जिनियर कपिलदेव यादवले बताए । कतिपय स्थानमा पानी वितरणमा समस्या उत्पन्न भइरहेको भएपनि यसलाई मर्मतको काम गरिरहेको उनको भनाई छ । गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गरिँदै छ । उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिएको छ । यो खानेपानी वितरणको जिम्मा इलाम नगरपालिकाले नै पाएको छ । अनुगमनका क्रममा उपमेयर बिष्णुकुमारी दहाल, नेपाली कांग्रेसका पूर्वजिल्ला सभापती हिमालय कर्माचार्य, नेकपा एमालेका गणेश बराल, माओवादी केन्द्रका बिजय खम्बु तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल इलाम नगरपालिका चारका वडाध्यक्ष तथा प्रवक्ता नुतनदेव दुलाल, आठका वडाध्यक्ष दलमान तामाङ लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार