झापा । नेपाली कांग्रेस झापाले जिल्ला पदाधिकारी र सदस्य मनोनयनपछि विभागीय समिति गठनको कार्यलाई अघि बढाएको छ ।
पार्टी सभापति देउकुमार थेवेको सभापतित्वमा आज शनिबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा बसेको जिल्ला पदाधिकारी, क्षेत्र, प्रदेश सभा क्षेत्र र गाउँ नगर सभापतिहरुको संयुक्त बैठकले आगामी जेठ २५ गतेभित्र विभागीय समितिमा मनोनयन गर्नुपर्ने नामहरु टुङ्गो लगाउने निर्णय गरेको छ ।
क्षेत्रीय सभापतिले मातहतका पार्टी इकाई समितिहरुसंग छलफल गरी विषय विज्ञताका आधारमा विभागमा मनोनित हुने सदस्यहरुको नामावली लिखित रुपमा पेश गर्नुपर्ने निर्णय भएको हो ।
त्यसैगरी गत वैशाख २० गते मनोनित जिल्ला सदस्यहरुलाई कार्य योजना र जिम्वेवारी तोकेर जिल्लाका १३१ वटै वडामा जिल्ला प्रतिनिधिका रुपमा खटाउने समेत निर्णय गरिएको छ ।
यसरी खटिएका प्रतिनिधिहरु आफ्नो क्षेत्र तथा पालिकाका सम्बन्धित वडाहरुमा खटिएको वा नखटिएको तथा अन्यत्र खटिएका प्रतिनिधिहरु सम्वन्धित वडा पालिकामा पुगे नपुगेको विषयमा सम्बन्धित पार्टी समितिले अनुगमन गर्ने र त्यसको जानकारी जिल्ला सचिवालयमा गराउनु पर्ने निर्णय समेत भएको पार्टीले जनाएको छ ।
त्यसैगरी, जेठभित्र नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधि र पार्टीका जिल्ला पदाधिकारी, क्षेत्र, प्रदेश सभा क्षेत्र र गाउँ नगर सभापतिहरुको अन्तरक्रियात्मक संयुक्त छलफल कार्यक्रम आयोजना गरिने भएको छ ।
अन्तरक्रियामा वजेट कार्ययोजना तर्जुमा र पार्टी र जनप्रतिनिधिहरुको बीचमा समन्वय गर्दै विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउने विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया