इटहरीमा निर्माणाधीन सार्वजनिक शौचालय ४ वर्षदेखि अलपत्र, ठेकेदार सम्पर्कविहीन

सोमबार, १५ जेठ २०८०
प्रकाश तिम्सिना / इटहरी २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार द्धारिकलाल चौधरीले चुनावी एजेन्डा नै सार्वजनिक शौचालय बनाए । उनले चुनावी भाषणमा आफू निर्वाचित भए सय दिनभित्र इटहरीमा सार्वजनिक शौचालय बनाउने आश्वासन बाँडे । देशमा संघीयता आएसँगै भएको पहिलो स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेबाट क्रमशः द्धारिकलाल चौधरी (हाल माओवादी केन्द्र) र लक्ष्मी गौतम निर्वाचित भए । तर सय दिनको त के कुरा पाँच वर्षे कार्यकाल सकिएर नयाँ जनप्रतिनिधि आइसक्दा पनि सार्वजनिक शौचालय बन्न सकेन । उपमहानगरपलिकाभित्रै बनेको अत्याधुनिक अपाङ्गमैत्री शौचालय निर्माण सुरु भएको ४ वर्ष वित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । २०७६ पुस १७ गतेदेखि निर्माणको जिम्मा पाएको कम्पनी सम्पर्कविहीन भएपछि निर्माण कार्य अलपत्र परेको हो । करिब ५६ लाख २१ हजार रुपैयाँमा अंकित कन्ट्रन्सन सिरहाले ठेक्का पाएको थियो । २०७७ जेठ मसान्तसम्म काम सम्पन्न गरी सक्नुपर्ने शौचालय निर्माण कम्पनीको चरम लापबाहीका कारण हालसम्म ४० प्रतिशतमात्रै काम भएको छ । कोरोना महामारी र आर्थिक मन्दीका कारण नेपाल सरकारले सबै निर्माण व्यवसायीलाई बाँकी काम सम्पन्न गराउन सार्वजनिक खरिद ऐन १२औं संशोधनले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरे पनि हालसम्म कम्पनीले कुनै काम अघि बढाएको छैन । उपमहानगरले पटकपटक ताकेता गर्दा पनि ठेकेदारले बेवास्ता गर्दा शौचालय अलपत्र अवस्थामा पुगेको हो । २२ लाख ८२ हजार ७७६ रकम पाइएसकेको ठेकेदार कम्पनीले बाहिरी काम सम्पन्न गरिसकेको छ । तर भित्र प्रयोग हुने सामग्री कुनै पनि निर्माण गरेको छैन । उपमहानगरका इन्जिनियर जीवन घिमिरे पटकपटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले बेवास्ता गरेको बताउँछन् । उनले ६ महिनामा बनिसक्नु पर्ने शौचालय ४ वर्ष बित्नलाग्दा पनि सम्पन्न हुने छाँट नदेखिएको बताए । ठेकेदारले बेवास्ता गरेपछि उपमहानगर असार मसान्तलगत्तै कम्पनीसँगको सम्झौता तोड्ने अबस्थामा पुगेको छ । ‘भुक्तानीमा हामीले कुनै समस्या गरेका छैंनौं तर ठेकेदारले के कारणले काम गरेनन् हामीलाई थाहा छैन’ इन्जिनियर घिमिरे भन्छन् ‘सरकारले असार मसान्तसम्म म्याद थप गरेकाले सम्झौता तोड्न सकिएको छैन । अब असार मसान्तलगत्तै ठेक्का रद्द गर्छाैं ।’ इटहरीको मुख्य चोक आसपास शौचालय नहुँदा यात्रु तथा पैदलयात्री समस्यामा पर्दै आएका छन् । कोशी प्रदेशको व्यस्त शहर इटहरीमा सार्वजनिक शौचालय नहुनाले उपमहानगर आलोचनाको केन्द्र बनिरहेको छ । नयाँ जनप्रतिनिधि आएपछि पूर्वलाइनको बस स्ट्यान्डमा शौचालय सञ्चालनमा आएको छ । यस्तै, इटहरीको मुख्य चोकमा समेत सार्वजनिक शौचालय निर्माणाधीन अवस्थामा छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार