विराटनगर । सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै संघीय सरकार स्वास्थ्य मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महानगरका मेयर नागेश कोइरालालाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा महानगरलाई प्रदान गरिएको पुरस्कार मेयर कोइरालाले ग्रहण गरेका थिए । कार्यक्रममा मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मेयर कोइरालालाई दोसल्ला ओढाएर नगद ५० हजार र सम्मानपत्र प्रदान गरेका थिए ।
मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष सो पुरस्कार प्रदान गर्ने गरेको छ । “सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै कानुन कार्यान्वयन गर्ने निकाय (सरकारी कार्यालयतर्फ) विराटनगर महानगरपालिकालाई पुरस्कृत गरिएको छ,” मन्त्रालयले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ ।
महानगरले गत वैशाख १ गतेदेखि विराटनगरका सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा निषेध गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई निषेध गर्ने सन्दर्भमा निकै महत्वपूर्ण कार्य गरेको बताए ।
उनले अन्य पालिका र सरकारी कार्यालयहरुले पनि विराटनगरबाट सिक्नुपर्नेमा जोड दिए । मन्त्रालयले छनोटका क्रममा विशेष टोली पठाएर स्थलगत रुपमा समेत अध्ययन गरेको उनको भनाइ थियो ।
महानगरले अघि सारेको अभियान निकै प्रभावकारी रुपमा कार्यान्वयन भएको देखिएकाले पुरस्कृत गरिएको मन्त्री बस्नेतले बताए ।
मेयर कोइरालाले महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गरिरहेको जानकारी दिए । अभियानअन्तर्गत गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा महानगरले रोक लगाएको उनको भनाइ थियो ।
मेयर कोइरालाले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्रीका लागि लिएका अनुमतिपत्र नवीकरण र नयाँ दर्तासमेत नगर्ने जानकारी दिए । कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणको न्यूनीकरण, नियन्त्रण तथा कानुन कार्यान्वयन गरी देशका ७५३ पालिकामात्रै नभएर मुलुकका सबै सरकारी संयन्त्रमध्ये विराटनगर सर्वोत्कृष्ट भएको बताए ।
प्रतिक्रिया