बीपी प्रतिष्ठानका ३ पूर्वपदाधिकारी भ्रष्टाचारमा दोषी ठहर

शुक्रबार, १९ जेठ २०८०
काठमाडौं । स्वास्थ्य उपकरण खरिदमा भएको अनियमिततामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन उच्चपदस्थ पूर्वपदाधिकारी दोषी ठहर भएका छन् । विशेष अदालतले पूर्वउपकुलपति बलभद्रप्रसाद दास, पूर्वरजिष्ट्रार नन्दकुमार थापा र पूर्वनिर्देशक अरविन्दकुमार सिन्हालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै एक/एक वर्ष कैद र २५ हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए । विशेष अदालतका सदस्यहरु बलभन्द्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले विहीबार स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको ठहर गरेको हो । ३० असार २०७६ मा अख्तियारले तत्कालीन उपकुलपति दाससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीनजना बाहेक रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी म्यानेजर अमिल श्रीवास्तव, उपकरण सप्लायरहरु चेतन अग्रवाल र उमेश अग्रवालले भने आरोपबाट सफाइ पाएका छन् । कम रकम कबोल गर्ने बोलपत्रको आधार र तथ्य विश्लेषण नगरी बढी कबोल्ने पक्षलाई ठेक्का दिएर राज्यकोषमा नोक्सानी पुरयाएको आरोप अख्तियारले लगाएको थियो । अख्तियारले बीपी दासमाथि चार करोड ८ लाख, अस्पताल निर्देशक सिन्हामाथि ३ करोड ७५ लाख, तत्कालीन रजिष्ट्रार थापामाथि एक करोड ९६ लाख, रजिष्ट्रार श्रेष्ठमाथि ५६ लाख रुपैंया विगो माग दावी गरेको थियो । यस्तै लेखा प्रमुख दाहालमाथि २ करोड ३४ लाख र डेपुटी म्यानेजर श्रीवास्तवमाथि १ करोड ७४ लाख रुपैंया विगो मागदावी थियो । सप्लायर्सहरुमध्ये चेतन अग्रवालमाथि एक करोड ४ लाख र उमेश अग्रवालमाथि ६० लाख रुपैयाँ विगो मागदावी थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार