इलाम । इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी रकम भेटीस्वरुप संकलन भएको छ । गाउँपालिकामा नयाँ नेतृत्व आएपछि यसको आम्दानी पारदर्शी गर्न सुरु गरिएसँगै हिसाब सार्वजनिक भएको हो ।
यहाँ रहेको पुरानो समितिको हिसाब अपारदर्शी रहेको भन्दै आवाज उठ्दै आएको छ । पुरानो हिसाबका सम्वन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको थियो ।
नयाँ समिति आएपछि यसको पारदर्शितामा गाउँपालिका नै लागेको रोङ गाउँपालिकाका अध्यक्ष मणीकुमार स्याङ्बो सुवासले बताए ।
उनले पाथीभरा मन्दिर व्यवस्थापनको स्वामित्व परिवर्तन भएकोे सय दिनमा ६६ लाख ६१ हजार तीन सय ७८ रुपैयाँ भेटी संकलन भएको बताए ।
पाथीभरा मन्दिरको स्वामित्य नयाँ समितिले गत फागुन महिनाबाट लिएको हो । फागुन महिनामा २१ लाख ७० हजार दुई सय ९४ रुपैयाँ, चैत्र महिनामा २० लाख ६४ हजार सात सय ४३ रुपैयाँ र वैशाखमा १८ लाख ८५ हजार एक सय पाँच रुपैयाँ भेटी सङ्कलन भएको छ । त्यस्तै जेठ महिनामा समेत पाँच लाखभन्दा बढी रकम जुटेको जनाइएको छ ।
स्थानीय तह निर्वाचनको पहिलो कार्यकालमै कार्यविधि निर्माण भए पनि कार्यान्वयनमा आउन नसकेको सो मन्दिरको स्वामित्व हाल स्थानीय तहले लिएर मन्दिर ब्यवस्थापन समिति समेत परिवर्तन भएको हो । रकम बढी हुनु ठूलो कुरा नभए पनि जुटेको रकमको पारदर्शिता महत्वपूर्ण रहेको गाउँपालिका अध्यक्ष स्याङ्बोको भनाई छ ।
पुरानो व्यवस्थापन समितिले गरेको आर्थिक अपारदर्शिताका विषयमा पटक पटक कुरा उठेपछि गाउँपालिका र सर्वदलीय बैठकले पाथीभरा मन्दिरको पुरानो समितिको हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्र पठाउने निर्णय गरेको छ ।
पाथीभरा क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५ अनुसार समिति गठन भए पनि कार्यान्वयन हुन नसकेपछि सो कार्यमा आफुहरु लागेको नयाँ जनप्रतिनिधिहरुको भनाई छ ।
पुरानो समितिको आयव्यय सार्वजनिक नभएको ५–६ वर्ष भएकोले जनताले तत्काल सार्वजनिक गराउन गाउँपालिकालाई दबाब दिन थालेपछि प्रक्रिया अघि बढाएको जनाएको छ ।
पालिकास्थित राजनैतिक दल र पालिकाले जिल्ला प्रशासन कार्यालय सँगको सहकार्यमा पुरानो समितिको विवरण सार्वजनिक गराउने प्रयासमा गर्दै जेठ १४ गते सार्वजनिक सुनवाइ तोकेको थियो । सो कार्यक्रम हुन सकेन ।
लेखा परीक्षकले समयमा सबै कागजात प्राप्त गर्न नसकेको कारण प्रतिवेदन तयार हुन नसकेको जानकारी दिएको पालिकाले जनाएको छ । तर मन्दिरको पुरानो संमितिले जेठ ३२ गते सार्वजनिक सुनुवाइ गर्ने कार्यक्रम तोकेको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले पालिकाले पठाएको पत्रका आधारमा पुरानो समितिलाई समय तोकेरै साधारण सभा गर्न लगाउने र संस्थाको अडिट रिपोर्ट हेरेपछि फरक परेमा कानुनी प्रक्रिया अघि बढ्ने बताए । उनले पुरानो समितिसँग मौखिक रूपमा आफूले तत्काल साधारण सभाको बैठक राखेर काम अगाडि बढाउने बताए ।
प्रतिक्रिया