बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

विहीबार, ०७ असार २०८०
विराटनगर । कोशी प्रदेश सरकारले बाढी र पहिराे पीडितलाई वितरण गर्न सम्बन्धित जिल्लामा राहत सामग्री पठाएको छ । ताप्लेजुङ, पाँचथर र सखुवासभाका बाढी पीडितलाई वितरण गर्नका लागि प्रदेश सरकारले राहत पठाएको हो । बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका आफन्तलाई प्रदेश सरकारले प्रति मृतक एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो । ६ जना मृतकका आफन्तलाई वितरण गर्न सम्बन्धित जिल्लामा पठाइएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । ताप्लेजुङका लागि ३ पाँचथरमा तीन जनालाई वितरणका लागि सो रकम पठाइएको हो । सरकारले बाढी पहिरोमा क्षतिग्रस्त भएका सखुवासभाका १७ वटा घर पुनः निर्माणका लागि राहातस्वरुप सात लाख ५० हजार रुपैयाँ पनि पठाएको छ । पूर्ण क्षति भएका १३ वटा घर पुनः निर्माणका लागि प्रति घर ५० हजार र आंशिक क्षति भएका चार वटा घर पुनःनिर्माणका लागि ३० हजारका दरले राहत रकम पठाइएको हो । संखुवासभाबाट मृतकको विवरण आइनसकेका कारण राहत पठाउन बाँकी रहेको विष्टले बताए । भीषण वर्षासँगै शनिबार राति गएको बाढी र पहिरोमा परेर पाँचथर, ताप्लेजुङ र संखुवासभामा हालसम्म ८ जनाको मृत्यु भइसकेको छ । ताप्लेजुङ र पाँचथरमा ३/३ र संखुवासभामा २ जनाको मृत्यु भएको हो । भोजपुरमा पनि १ जनाको मृत्यु भएको थियो । मृतकमध्ये पाँचथरको फालेलुङ गाउँपालिका–४ की ८ वर्षीया जुना साउदेन, फिदिम नगरपालिका–११ घर भइ माउण्टेन ‘बी’ हाइड्रोमा सेक्युरिटी गार्डको रूपमा कार्यरत २८ वर्षीय हेमराज भनिने संजोग लिम्बू र २५ वर्षीया एलिसा माझी तथा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ का ३० वर्षीय गणेश तामाङ, मुखुभन्ज्याङका ६७ वर्षीय केशर राई र ३६ वर्षीय सुरेश राई छन् । संखुवासभाको पाँचखपन नगरपालिका–९ का २६ वर्षीय सन्तोश राईको पनि मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–१० निगुरेमा सोमबार साँझ मृत फेला परेका पुरुषको हालसम्म पहिचान खुलेको छैन । सुपर हेंवा हाइड्रोपावरबाट बेपत्ता भएका पुरुषको कम्मरदेखि मुनिको भाग मात्रै फेला परेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार संखुवासभामा पहिचान खुलेका र नखुलेका दुवै मृतकका परिवारलाई राहत रकम पठाउन सकिएको छैन । बाढी एवं पहिरोमा परेर मृत्यु भएका भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ का ३२ वर्षीय मन्दीप राईका परिवारलाई पनि राहत रकम पठाउन बाँकी छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार जेठ ३२ गते भोजपुरका राईको मृत्यु भएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले हालसम्म राहतका लागि सिफारिस गरेर नपठाएका कारण संखुवासभा र भोजपुरमा मृत्यु भएकाका परिवारलाई राहत रकम उपलब्ध गराउन नसकिएको हो । बाढी र पहिरोमा परेर संखुवासभा, पाँचथर र ताप्लेजुङमा २७ जना अझैसम्म बेपत्ता छन् । संखुवासभामा २१, पाँचथर र ताप्लेजुङमा ३÷३ जना बेपत्ता भएका थिए । नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ताको खोजी जारी राखेको सशस्त्र प्रहरी बल कोसी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार