इलाम । जिल्ला हुलाक कार्यालय इलाममा कर्मचारीहरुले तालाबन्दी गरेका छन् । सेवाबाट हटाउन लागेको भन्दै अतिरिक्त हुलाकका कर्मचारीहरुले आइतबार तालाबन्दी गरेका हुन् ।
सरकारले साउन १ देखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेसँगै इलाममा हुलाक कर्मचारीहरुले आन्दोलन थालेका थिए ।
सरकारको निणर्यले लामो समयसम्म गरेको सेवाको मूल्यांकन विना काम छाड्नु परेको भन्दै कर्मचारीद्वारा चरणवद्ध आन्दोलनका कार्यक्रम सुरु भएको छ ।
इलाममा ४० अतिरिक्त हुलाक कार्यालय रहेकामा तिनमा १ सय ५७ कर्मचारी कार्यरत छन् । सरकारी निर्णयको मारमा परेको भन्दै कर्मचारीहरुले संगठित भएर आन्दोलनमा होमिनु परेको बताएका छन् ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनको अगुवाईमा सदरमुकाममा रहेको जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन थालेका हुन् ।
विना विकल्प कर्मचारीलाई सेवामूक्त गर्नु अन्याय भएको भन्दै आन्दोलनमा उत्रनु परेको कर्मचारी एशोसिएसनका जिल्ला अध्यक्ष लिलानाथ लम्सालले वताए ।
सरकारले सो निर्णय कार्यान्वयन गरे आफुहरुले ससक्त आन्दोलनका अझै कार्यक्रम सार्वजनिक गर्ने समेत बताए ।
नेपाल सरकारले बजेट वक्तव्यमा साउन १ गतेदेखि लागूू हुुने गरि देशभरका अतिरक्त हुलाक खारेज गर्ने जनाएको हो । अतिरिक्त हुुलाक खारेजी हँदा देशभरमा ११ हजार कर्मचारी रित्तो हात घर फर्कनु पर्ने छ ।
सरकारको यो निर्णय सच्याइनु पर्ने उनीहरुको माग छ । नसच्याइए चरणवद्ध आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । जिल्ला हुलाकबाट समेत नवीकरणका लागि आफ्नो नाम केन्द्रमा नपठाइएकाले आफुहरुले जिल्ला हुलाकमा नै तालाबन्दी गर्नु परेको उनीहरुको भनाई छ ।
प्रतिक्रिया