सहकारीले बिचौलियालाई दिएको मल जफत, २ लाख जरिवाना

आइतबार, १७ असार २०८०
इलाम । सरकारले अनुदानमा दिएको मल इलामको एक सहकारीले बिचौलियालाई बेचेको पुस्टि भएपछि जिल्ला प्रशासन कार्यालय इलामले जफत गरेको छ । अनुदानमा आएको मल इलाम नगरपालिका एक नेपालटामा रहेको सूर्यज्योति कृषि सहकारीले इलाम सदरमुकाममा रहेको कृषि बिज भण्डारलाई बेचेको पुष्टि भएपछि जफत गरेको हो । जफत गरिएको मल इलाम नगरपालिकालाई बुझाएको छ । अनुदानको मल इजाजतबिना कृषि बिज भण्डारले सहकारीबाट खरिद गरेर किसानलाई महंगो मुल्यमा बिक्री गरेको पाइएको छ । कृषि बिज भण्डार भेषराज पराजुलीको नाममा दर्ता छ । सो पसललाई दुई लाख जरिवाना समेत गरिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । उनले जफत गरिएको मल इलाम नगरपालिकालाई जिम्मा लगाइएको बताए । अनुमगनका क्रममा जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले बुधबार सो पसलको गोदाममा सिल गरेको थियो । सरकारी अनुदान प्राप्त ३४ बोरा युरिया, १८ बोरा डिएपी गरि जम्मा ५२ बोरा मल इलाम नगरपालिकाले जिम्मा लिएर इलामको गौतमबुद्ध सभागृह सिटीहलमा राखिएको इलाम नगरपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र नेपालले बताए । कृषि बिज भण्डारको गोदामबाट जफत गरेर आफूहरुले राखेको कृषि शाखा प्रमुख नेपालको भनाई छ । जफत गरिएको मल प्रमुख इलाम नगरपालिकाको निर्णयबाट के गर्ने भन्ने टुंगो लगाउने उनले बताए । यता, सहकारीका ब्यवस्थापक अमर खत्रीको समेत लिइएको छ । सहकारीका बिषयमा अनुसन्धान भइरहेको छ । अब कानुन अनुसार सहकारीलाई के कारबाही गर्ने भनेर थप अनुसन्धानपछि मात्र भन्न सकिने प्रजिअ पोख्रेलको भनाई छ । गोदाममा सिल गरेपछि सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको नेतृत्वमा रहेको अनुगमन टोलीले आवश्यक कागजात सहित तीन दिन भित्रमा प्रशासनमा उपस्थित हुन विज भण्डारका संचालकलाई निर्देशन दिएको थियो । अनुगमनको टोलीलाई भने कृषि विजका संचालकले झापाको चारआलीबाट मल खरिद गरेको बताएपनि उनले खरिद गरेको आवश्यक कागजपत्र देखाउन सकेनन् । इलामका पालिकाहरुलाई कोटा निर्धारण गरेर कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले रासायनिक मल उपलब्ध गराउँदै आएको छ । अनुदानकै मलमा बिचौलिया र सहकारीको मिलेमतो जिल्लाका अन्य स्थानमा समेत हुने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार