उपचारमा सहज बन्दै इटहरी अस्पताल, ‘रेफर होइन अब उपचार हुन्छ’

आइतबार, ०३ पुस २०७९
बितेको पाँच वर्षमा इटहरीमा सबैभन्दा धेरै चर्चा भएको विषय हो, सुविधा सम्पन्न अस्पताल । दुई ठूला सहर धरान र विराटनगरको बीचमा रहेर विकासको लय पक्रेको इटहरीमा एउटा सुविधा सम्पन्न अस्पताल नहुनु दुर्भाग्य,भन्दै अस्पताल बनाउन सबैको माग थियो । अस्पताल बनाउने भन्दै कतै शिलान्यास पनि गरियो, जग्गा खोजी गर्न भन्दै समिति पनि बन्यो । तर, न जग्गा भेटियो, न त अस्पताल बन्यो । तत्कालीन मेयर द्वारिकलाल चौधरीले अर्काको जग्गामा थाहै नदिई अस्पताल शिलान्यास गरेको भन्दै विवाद समेत उत्पन्न भयो । राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्रमा दुई सय बेडको अस्पताल बनाउने भनेर घोषणा गरे । तर काम भने भएन । घोषणा गरेको काम नभएपछि सांसद हराएको सूचना भन्दै सामाजिक सञ्जालमा आलोचना भयो । सुविधा सम्पन्न अस्पतालको विषयमा चर्चा धेरै हुने तर जनताले उपचारमा हैरानी भोग्नुपर्ने बाध्यता भएपछि इटहरी उपमहानगरले अहिले कामगर्ने शैलीमा परिवर्तन गरेको छ । ठूला कुरा होइन, सानो सानो कुरामा सुधार गर्दै इटहरी अस्पतालले सेवा दिन थालेको जनाएको छ । इटहरी अस्पतालमै सेवा विस्तार गर्दै जनतालाई सहज रुपमा उपचार दिन थालेको छ । १ वर्षअघि सम्म अस्पतालमा प्रयाप्त डाक्टर नभएर सेवा लिन आएका जनता त्यसै फर्कनुपर्ने बाध्यता अहिले भने हटेको छ । अहिले अस्पताल प्रशासनले औषधीको अभाव हटाउन उपमहानगरले १ करोडको लागतमा औषधी खरिद गर्न टेण्डर प्रक्रिया सुरु गरेको छ । औषधी खरिदका लागि बजेट बिनियोजन भइ टेण्डर पनि आह्वान भएर स्वीकृत भइसकेको छ । रेफर होइन अब उपचार हुन्छ एक समय थियो, इटहरीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका बिरामीहरू उपचार होइन रेफर लिएर फर्कनुपथ्र्यो । इटहरी अस्पतालमा डाक्टर नहुँदा बिरामीलाई रेफर दिँदै पठाउनु पर्ने बाध्यता थियो । तर अहिले इटहरी अस्पतालमा ५ जना डाक्टरहरूले दैनिक ओ.पि.डी सेवा दिइरहेका छन् । डा.अशोक चेम्जोङ, डा. नमिता अधिकारी, डा.शिवनारायण शर्मा, डा.सुशान्त चौधरी, एमएस नवीना बानियाँले दैनिक रुपमा ओ.पि.डी सेवा अन्तर्गत बिरामी चेकजाँच गरिरहेको अस्पतालका स्वास्थ्य निरीक्षक दामोदर गौतमले जानकारी दिए । ओ.पि.डी मा विशेषज्ञ डाक्टरले नै बिरामी जाँच गर्न थालेपछि उपचारमा आउने बिरामीको संख्या पनि अहिले बढेको छ । अहिले दैनिक ४ सय बिरामीले उपचार लिइरहेका छन् । ओ.पि.डी दैनिक बिहान ८ बजेदेखि नै सञ्चालन गरिरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले पहिलो निर्णय गर्दै थप उपचारका लागि रेफर लिनुपर्ने बिरामीहरूले वडाबाटै रेफर लिन सक्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार रेफर लिन अस्पताल धाउने इटहरीबासीले अहिले वडाको स्वास्थ्य केन्द्रबाट नै रेफर लिन थालेका छन् । यसले अस्पतालमा हुने अनावश्यक भीड पनि हटेको छ । आधुनिक ल्याब र २४ घण्टा इमर्जेन्सी इटहरी अस्पतालले केही समयअघि देखि नै २४ सै घण्टा इमर्जेन्सी सेवा दिइरहेको छ । १५ बेडबाट इमर्जेन्सी सेवा दिइरहेको अस्पताल प्रशासनले जनाएको छ । नयाँ बन्दै गरेको भवन निर्माण सम्पन्न भएपछि बेड अभावमा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता हट्ने इटहरी अस्प्तालका स्वास्थ्य निरीक्षक दामोदर गौतमले बताए । विशेषज्ञ डाक्टरले जाँचगर्दै रोग परिक्षणका लागिविभिन्न टेष्ट गर्नलाई ल्याब सेवालाई पनि आधुनिक बनाइएको छ । ल्याबमा नयाँ मेसिन उपकरण थप गर्दै आधुनिक बनाइएको छ । अहिले दैनिक रुपमा मुट, मृगौला, कलेजो, डायवेटिज, प्रोष्टेट, डेंगु, भिटामिन, थाईराईडसहित अन्य विभिन्न समस्याको परीक्षण हुँदै आएको छ । भिडियो एक्स–रे जडान गरेपछि बिरामी जाँच गर्न आएका बिरामीलाई अन्य ठाउँमा एक्स–रे गर्न जानुपर्ने बाध्यता पनि हटेको छ । डाईलासिस मेसिन र १ करोडकोऔषधी खरिद मृगौला पीडित बिरामीहरूले अब इटहरी अस्पतालमै डाईलासिस गर्न पाउने भएका छन् । रोटरी क्लब इटहरीले ६७ लाख रकममा डाईलासिस मेसिन खरिद गरी अस्पताललाई प्रदान गरेको छ । अहिले मेसिन जडानको काम भइरहेको छ । अस्पतालमा डाईलासिस गर्नका लागि आवश्यक पर्ने कोठामा मेसिन जडानको काम भइरहेको छ । डाईलासिस सञ्चालन गर्नका लागि आवश्यक डाक्टर सहितका दक्ष जनशक्ति व्यवस्थापन गर्न इटहरी उपमहानगरपालिका, रोटरी क्लब र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय एमओ।यु गर्ने तयारी भइरहेको रोटरी क्लबका सचिव चेतन धमलाले जानकारी दिए । मेसिन जडानसँगै वीपी प्रष्ठिानसँग एम। ओ यु भएपछि सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार