एक वर्षमा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

आइतबार, ०३ भदौ २०८०
काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा मासिक औसत १ खर्बभन्दा माथि रेमिट्यान्स भित्रिएको छ । यस आवमा अघिल्लो आवको तुलनामा २१.२ प्रतिशतले विप्रेषण वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार असार मसान्तसम्म १२ खर्ब २० अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिएको हो । यस आवमा वैदेशिक रोजगारीमा जाने व्यक्तिको संख्याले कीर्तिमान कायम गरेको थियो । सोही अनुसार नेपालीहरुले स्वदेशमा वैधानिक च्यानलबाट रकम पठाउने क्रम समेत वृद्धि भएको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो आवमा वृद्धिदर २.२ प्रतिशत थियो । गत आवमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ९७ हजार ७०४ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ७७ हजार २७२ रहेको थियो । नयाँ श्रम स्वीकृति लिनेको संख्या अघिल्लो आवको तुलनामा ४०.३ प्रतिशत धेरै हो । पुनः श्रम स्वीकृति लिनेको संख्या भने १.८ प्रतिशत कम हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार