धरानमा जारी २३ औं टुबोर्ग गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १४ नं. वडाले २ नं. वडालाई ७–१ को फराकिलो अन्तरमा पराजित गरेको छ ।
१४ नं. वडाकालाडी सरोज राई एक्लैले ४ गोल गरे भने विवेश राई र सौगात गुरुङले एक÷एक गोल गरे । अर्काे गोल भने २ नं. वडाका विवश मगरले आत्माघाती गोल गरेका थिए । धरान–२ का तर्फबाट केशव राईले सान्त्वना गोल गरेका थिए । १४ नं. वडा प्रतियोगिताको उपाधी दाबेदार टोली समेत हो ।
उसले २१ संस्करणको उपाधी जितेको थियो । प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेका सरोज राई खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनलाई नगद १५ सय सहित मेडल पुरस्कार प्रदान गरिएको थियो ।
पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
अब हुने खेलमा वडा नं. १२ र वडा नं. ८ बिच हुने र दोस्रो खेल वडा नं. ९ र वडा नं. १९ बिच हुने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । प्रतियोगितालाई टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको छ भने धरानको १७ नं. वडा कार्यालय, धरान–१७ समाज हङकङ र सेन्ट जोसेफ स्कुले सहप्रायोजन गरेको छ ।
प्रतिक्रिया