शिक्षाविद् विद्यानाथ कोइरालाले देशको व्यवस्थाले विद्यार्थीको चाहना बुझ्न नसकेको बताए । ‘विद्यार्थीले पार्टटाइम पढाइ र पार्टटाइम जब खोजिरहेका छन्,’ उनले भने, ‘तर, हामीले उनीहरूको मनसाय बुझेनौँ, विद्यार्थीको सोच बुझ्नुपर्छ, पढाइसँगसँगै रोजगार दिन सक्नुपर्छ । ड्रपआउट हुनु विद्यार्थीको दोष होइन, सरकारको हो ।’पशुपति क्याम्पसका क्याम्पस प्रमुख विनोदचन्द पन्तका अनुसार ‘ड्रपआउट’ हुनेमध्ये सबैभन्दा बढी विद्यार्थी स्नातक तहका छन् । नेपालमा रोजगारको अवसर नहुनु, व्यवसाय गर्न झन्झट र व्यवसायमैत्री वातावरण नहुनु, बिए, बिबिए, बिएड कार्यक्रमलाई चारवर्षे बनाउनु, पारिवारिक बाध्यता, त्रिविले समयमै नतिजा सार्वजनिक नगर्नुलगायत कारण विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेका छन् । ‘सरकारी नियम सही नभएका कारण विद्यार्थी दिक्दार छन्, उनीहरू पढ्दापढ्दै बेचैन भएर विदेश जाने वा ‘ड्रपआउट’ हुन्छन्,’ क्याम्पस प्रमुख पन्तले भने, ‘त्रिविमा स्नातक तह पढेर सर्टिफिकेट हात पर्दा ६ वर्ष लाग्छ, यस्तो अवस्था भए पनि विद्यार्थी कसरी टिकाउने ? अहिले विदेश जानका लागि रनिङ लेटर बनाउन आउनेको संख्या अत्यधिक छ ।’ पाँच वर्षमा बाहिरिए चार लाख ४ हजार १३९ विद्यार्थी नेपालबाट उच्च शिक्षाका लागि बिदेसिने विद्यार्थीको संख्या उच्च देखिन्छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार पाँच वर्षमा चार लाख चार हजार १३९ विद्यार्थी बाहिरिएका छन् । त्यस्तै, ०८०-८१ को पुस समान्तसम्म ५१ हजार ६३१, ०७९-८० मा एक लाख १० हजार २१७ जना, ०७८-७९ मा एक लाख १७ हजार, ०७७-७८ मा २७ हजार ९००, ०७६-७७ मा ३४ हजार ९६ र ०७५-७६ मा ६३ हजारजना छन् । २९५ विद्यार्थी उच्च शिक्षाको लागि बाहिरिएका छन् । ड्रपआउटको तथ्यांक राख्दैन त्रिवि पढ्दै गरेकामध्ये कति ‘ड्रपआउट’ भए भन्ने यकिन तथ्यांक त्रिविसँग छैन । स्नातक तह र स्नातकोत्तर तहको पहिलो वर्ष तथा सेमेस्टरमा भर्ना भएका विद्यार्थी अन्तिम वर्ष तथा अन्तिम सेमेस्टरसम्म पुग्दा ४० प्रतिशत ‘ड्रपआउट’ हुन्छन् । त्रिविका आंगिक तथा निजी क्याम्पसहरूमा पाँच लाख १७ हजार हाराहारी विद्यार्थी स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत छन् । हाल स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीको तथ्यांक मात्रै त्रिविले राख्ने गरेको छ, बीचमै पढाइ छाड्नेको तथ्यांक राखेको छैन । आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया