मोरङमा महिलालाई मलमूत्र खुवाइयो, धामी झाँक्रीको काम गर्ने महिला पक्राउ

शुक्रबार, ०४ फागुन २०८०
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–७ मा बोक्सीको आरोप लगाएर एक जना महिलालाई मलमूत्र (दिसा–पिसाब) खुवाइएको छ । कुटपिट गर्दै र यातना दिँदै ५५ वर्षीया महिलालाई बिहीबार दिउँसो मानव मलमूत्र खुवाइएको हो । बोक्सीको आरोप लगाएर महिलामाथि अमानवीय व्यवहार गर्ने अर्की महिला पक्राउ परेकी छन् । गाउँ घरमा धामी झाँक्रीको काम गर्दै आएकी बूढीगंगा–७ की ५० वर्षीया पारो माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार धामी झाँक्रीको काम गर्दै गाउँ घरमा झारफुक गरेर हिँड्ने माझीलाई बिहीबार साँझ पक्राउ गरिएको हो । माझीले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेर र यातना दिएर मलमूत्र खुवाउँदै महिलामाथि अमानवीय व्यवहार गरेको दाहालको भनाइ छ । प्रहरीका अनुसार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । उक्त दियो चोरी गरेको आरोप उनले पीडित महिलालाई लगाइन् । पूजाको दियो हराएपछि बोक्सीले चोरी गरेको भनेर माझीले यातना दिँदै महिलामाथि अमानवीय व्यवहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पीडित पक्षले बिहीबार साँझ इलाका प्रहरी कार्यालय हरैँचा पुगेर प्रहरीलाई घटनाको जानकारी गराएको थियो । त्यसलगत्तै बोक्सीको आरोप लगाएर अमानवीय हर्कत गर्ने माझी पक्राउ परेकी हुन् । माझीले जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेर लगेको थाहा भएपछि बोक्सीलाई गर्ने कारबाही गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । कुटपिट गर्दै यातना दिन थालेपछि पीडितले पटकपटक आफूलाई त्यसो नगर्न आग्रह गरेको प्रहरीको भनाइ छ । तर, माझीले घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार गरेको पाइएको छ । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । डीएसपी दाहालले अनुसन्धानका लागि अदालतबाट शुक्रबार म्याद थप गरिने बताए । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाका बारेमा विस्तृत अनुसन्धान अघि बढाएको छ । घटनामा अरु व्यक्तिहरुको संलग्नता हालसम्म नदेखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार