प्रकाशकीय/ सम्पादकीयनयन एडभरटाइजिङ मिडिया प्रा.लि द्वारा सञ्चालित डिजिटल अनलाइन पत्रिका (प्रदेश खबर) परिवारका लागि फागुन ७ गतेले थोरै उत्साह थप्छ र केही हर्षको अनुभूति गराउँछ । यसो हुनुको कारण हो – यसको जन्म दिन । आजबाट हामी पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेका छौँ । कैयौँ असहज परिस्थितिलाई सहज बनाउँदै हामीले दोस्रो वर्षको यात्रा तय गरेका हौँ । तपाई सचेत नागरिकहरूले दिनु भएको प्रेरणाबाट प्रारम्भ भएको हाम्रो यात्राले यसबिचमा अनेक आरोह–अवरोध व्यहोरेको तपाई शुभेच्छुक लगायत सबैलाई अनुभूत भएकै छ । हामीले प्रारम्भ गरेको यात्राको पहिलो वर्ष पूरा गरिरहँदा ग्रामीण क्षेत्रबाट सुरु भएको हाम्रो यात्रा अहिले पूर्वको मात्र नभएर राष्ट्रकै प्रतिनिधि बन्ने अवस्थामा छ भन्न पाउँदा हामी स्वयम् गौरवको अनुभूति गर्दछौँ । यो गौरवको अनुभूति गर्न ऊर्जा प्रदान गर्ने हाम्रा आदरणीय पाठक, विज्ञापनदाता, शुभेच्छुक, सहयोगी सबैमा कृतज्ञता जाहेर गर्दछौँ । आगामी दिनमा पनि वस्तुनिष्ठ, निष्पक्ष, उत्तरदायी पूर्ण र रूपान्तरणकारी सञ्चार कर्मको प्रतिबद्धता व्यक्त गर्दै आदरणीय पाठक, विज्ञापनदाता, सञ्चारकर्मी, शुभेच्छुकहरूको सद्भाव अझ बलियो हुने अपेक्षा गरेका छौँ ।आज फागुन ७ गते । एकतन्त्रीय राणा शासनको अन्त्य भएको दिन पनि हो । वीरहरूको त्याग र बलिदानले एक सय चार वर्षदेखि निरंकुशताको साङ्लोमा बाँधिएका नेपाली जनताले उन्मुक्ति पाएको त्यो दिनको स्मरणमा प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिन्छ । त्यही दिनले नेपालीको सार्वभौम सम्पन्न नागरिकको परिचय स्थापित भयो । २००७ सालको क्रान्तिको समाप्तिपछि परिवर्तनका नाममा भएका आन्दोलनहरूले प्रजातन्त्र ल्यायो, बहुदलीय पद्धति र पछिल्लो समय गणतन्त्र पनि ल्यायो । तथापि नेपाली जनताले त्यहाँदेखि आजसम्म अधिकारका लागि कठिन सङ्घर्ष गरेका छन् । तर, अपेक्षा अनुसार जनता सार्वभौम सत्ता सम्पन्न हुन सकिरहेका छैनन् । यसैलाई मनन गर्दै गत वर्ष आजैकै दिनबाट हामीले जनताको सूचना प्राप्त गर्न पाउने नैसर्गिक अधिकारलाई स्थापित गर्न प्रदेश खबर अनलाइन न्युज पोर्टल डिजिटल अनलाइन पत्रिका प्रकाशनमा ल्याएका हौँ । सञ्चार कर्म स्वयम्मा साधना हो, जो सत्य, निष्ठा र निष्काम मानिन्छ । यसभित्र आग्रह, पूर्वाग्रह वा दुराग्रह रहनु हुन्न भन्ने हाम्रो मान्यता छ र हामी त्यही निष्ठामा साधनारत छौँ । यो अभीष्ट पूरा गर्न पलपलका खबर तपाई माझ पु¥याउन हाम्रो प्रयत्न जारी रहनेछ । नागरिकलाई सकारात्मक चिन्तनका लागि प्रेरित गर्ने, सरकारका त्रुटिहरू औँल्याउने, सुधार गर्न दबाब दिने, व्यवसाय र सेवामूलक क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने , आवाज विहीनको आवाज बनेर हामीले हाम्रो पेसागत धर्मलाई निर्वाह गरिरहने प्रतिबद्धता समेत यहाँँहरु माझ जाहेर गर्दछौँ । तर, त्यसलाई अकण्टक बनाउन स्थानीय , प्रदेश र सङ्घीय सरकारको पनि जिम्मेवारी उत्तिकै रहन्छ । किनकि सञ्चार क्षेत्रसँग जोडिएका अनेक प्रविधिहरू आज आम नेपालीले उपभोग गर्न पाइरहेका छैनन् । प्रविधिको द्रुततर विकासले आम जनताको इच्छा, आकाङ्क्षा र जिज्ञासालाई अझै धारिलो बनाउँदै लागेको छ । यस्तो अवस्थाका बिच हामीसँग चुनौतीहरू पनि थुप्रै छन् । सञ्चार क्षेत्र आफैँमा सरकार र नागरिकका बिचको सेतु हो जसले दुबैलाई जोड्ने काम गर्छ । सञ्चार क्षेत्रको सबलीकरण सरकारको जिम्मेवारी भित्र पर्नु पर्नेमा पर्न सकिरहेको छैन । राज्यले सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका लागि विशेष योजना, कार्यक्रम अवसर र प्रोत्साहनको व्यवस्था गर्नु पर्छ । राज्यको चौथो अङ्ग भनेर मात्र सञ्चार क्षेत्र बलियो हुँदैन त्यसलाई सशक्त, प्रभावकारी बनाउन दशकौँदेखि यस क्षेत्रले भोग्दै आएको अप्ठ्याराहरूलाई सहज बनाउन आवश्यक नीति निर्माण तथा कार्यान्वयनमा राज्यको ध्यान जानुपर्छ ।अन्त्यमा फेरि पनि प्रदेश खबर दोस्रो वर्ष प्रवेश गरेको सुखद क्षणमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, सञ्चारकर्मी, कर्मचारी मित्रहरू , शुभचिन्तक लगायत सबैमा हार्दिक आभार प्रकट गर्दछौँ ।
प्रतिक्रिया