काठमाडौं । ६ वर्षे कार्यकाल समाप्त भएका राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद आज आइतबारबाट बिदा हुँदै छन्।
२०७४ सालमा निर्वाचित एमालेबाट अध्यक्षसहित ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसबाट २, जसपाबाट १, स्वतन्त्र १ र राष्ट्रपतिबाट मनोनीत विमला राई पौडेल समेत गरी २० सांसद बिदा हुन लागेका हुन् ।
६ वर्ष कार्यकाल बिताएका उनीहरू आजैदेखि बिदा हुने र सोमबार नयाँ १९ सांसदहरुले शपथ लिनेछन् भने थप एक जना राष्ट्रपति रामचन्द्र पौडेलले मनोनीत गर्नुहुनेछ।
आइतबार बिदाइ हुनेहरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल थापा, पार्वती कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई बिदा हुँदै छन् ।
त्यस्तै कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन्।
यता नेकपा एसबाट नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमिलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि बिदा हुँदै छन् ।
उनीहरूको ठाउँमा हुने रिक्तता पूर्तिका लागि यसअघि नै माघ ११ मा भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन् । फागुन २१ गते उनीहरूको शपथको कार्यक्रम राखिएको छ भने एक जना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ।
संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ फागुन २१ गते सोमबार बिहान ११ बजेर ३० मिनेटमा हुनेछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरको ल्होत्से हलमा शपथ हुने भएकाले नवनिर्वाचित सबै राष्ट्रिय सभा सदस्यहरुलाई उपस्थित हुन अनुरोध गरेको छ।
२०७४ सालमा नयाँ संविधान जारी भएपछि भएको राष्ट्रियसभाको निर्वाचनबाट ५६ जना सदस्य निर्वाचित भएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए।
निर्वाचनपछि राष्ट्रियसभाका ५९ सदस्यहरूको कार्यअवधि गोला प्रथाबाट निर्धारण गरिएको थियो । उनीहरूको २ वर्ष, ४ वर्ष र ६ वर्ष गरी ३ प्रकारको कार्यकाल तय गरिएको थियो।
२ र ४ वर्ष कार्यकाल पूरा गरेकाहरू बिदा भइसकेका छन् भने ६ वर्ष कार्यकालको समय पाएका २० सांसदको आइतबारदेखि बिदाइ हुन लागेको हो।
उनीहरूको बिदाइका लागि संघीय संसद् सचिवालयले आइतबार साँझ बिदाइ कार्यक्रम राखेको सहप्रवक्ता दशरथ धमलाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। निर्वाचित भएर आएका सदस्यहरूलाई स्वागत र पदावधि सकिएका सदस्यलाई बिदाइ कार्यक्रम राखिएको उहाँको भनाइ छ।
बिदाइ हुने राष्ट्रियसभा सदस्यलाई आफ्नो कार्यकालमा संसद्मा बोलेका कुराहरूको लिखित दस्तावेजको पुस्तकसमेत प्रदान गरिने धमलाले बताउनुभयो।
एमालेको साइज घट्दा माओवादी पहिलो
सोमबारदेखि राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्दै छ। हाल १५ सदस्य रहेको यो दलबाट ३ सदस्य बाहिरिने र ५ सदस्या नयाँ थपिँदा १७ सदस्यसहित सबैभन्दा ठूलो दल बन्न लागेको हो।
त्यस्तै हाल १० सदस्य रहेको नेपाली कांग्रेसमा आइतबारबाट ४ सदस्य घट्ने र १० नयाँ थपिँदा १६ सदस्यसहित दोस्रो ठूलो दलको हैसियत प्राप्त गर्नेछ।
राष्ट्रियसभामा अहिलेसम्मको पहिलो दल एमाले तेस्रो हुन पुगेको छ। हाल एमालेका १७ सदस्य रहेकोमा ८ सदस्य बिदा हुँदै छन् भने १ जना नयाँ थपिएसँगै एमालेको १० सिट कायम हुनेछ।
नेकपा एकीकृत समाजवादीका ८ जना सदस्य रहेको राष्ट्रिय सभामा २ सदस्य बिदा हुने र २ नयाँ सदस्य प्रवेश गर्ने भएपछि ८ सिटसहित राष्ट्रिय सभामा नेकपा एस चौथो ठूलो दल बनेको छ।
जनता समाजवादी पार्टीबाट १ सदस्य बिदा हुँदै छन् भने १ सदस्य निर्वाचित भएर प्रवेश गर्ने भएकाले २ नै कामय रहनेछ। यता लोकतान्त्रिक समाजवादी पार्टीका एक सदस्य भने यथावत् रहेका छन्।
फागुन २१ बाट कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट राष्ट्रिय सभामा जाँदै छन्।
माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द राष्ट्रिय सभामा प्रवेश गर्दै छन्। यस्तै नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल, सावित्री मल्ल, नेकपा एमालेबाट रुक्मिणी कोइराला र जनता समाजवादी पार्टीबाट पूजा चौधरी राष्ट्रिय सभामा जाँदै छन्।
प्रतिक्रिया