सशस्त्रका डीएसपीको शव उठाउने तयारी

मंगलबार, २२ फागुन २०८०
विराटनगर । मोरङमा झुन्डिएको अवस्थामा मृत फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी (सशस्त्र प्रहरी नायव उपरीक्षक) ४१ वर्षीय उपेन्द्र बस्यालको शव उठाउने तयारी भइरहेको छ । धनपालथान गाउँपालिका–३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागका इन्चार्जसमेत रहेका डीएसपी बस्याल सोमबार दिउँसो २ः५५ बजेतिर मृत फेला परेका थिए । आफ्नो क्वर्टरनजिक रहेको भान्सा कोठाको भित्रबाट ढोकाको चुक्कुल लगाएर पंखामा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा बस्याल मृत भेटिएका हुन् । परिवारका सदस्यले आफूहरु नआइपुगिकन शव नउठाउन प्रहरीलाई आग्रह गरेका थिए । परिवारको आग्रह अनुसार शवलाई झुन्डिएकै अवस्थामा छाडिएको थियो । प्रहरीले रातभर घटनास्थललाई सुरक्षा दिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बस्यालका श्रीमतीसहित परिवारका सदस्य आइपुगेकाले घटनास्थलबाट शव उठाउने तयारी गरिएको जानकारी दिए । अबको केहीबेरमा शवलाई निकालिने उनले बताए । उनका अनुसार घटनास्थलबाट शवलाई पोस्मार्टमका लागि पठाइने छ । ‘पोस्मार्टम कुन अस्पतालमा गराउनेभन्ने यकिन भइसकेको छैन,’ दाहाल भन्छन्, ‘बस्यालको मृत्युको कारण पनि खुल्न बाँकी छ ।’ तर, डीएसपी बस्यालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । डीएसपी दाहालले पोस्टमार्टम रिपोर्ट प्राप्त भएर अनुसन्धान सकिएपछि घटनाको वास्तविकता पत्ता लाग्ने बताए । पाल्पाको तानसेन नगरपालिका–१ घर भएका डीएसपी बस्याल साढे ५ महिनादेखि प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत थिए । प्रहरीका अनुसार बस्यालको परिवार पोखरामा बस्दै आएको पाइएको छ । प्रहरी स्रोतका अनुसार मृत फेला पर्नुअघि बस्यालले केही साथीहरुलाई सम्पर्क गरेर हालखबर सोधेको खुलेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार