सशस्त्रद्वारा इटहरीमा वाहिनीपति कपको आयोजना

मंगलबार, २२ फागुन २०८०
इटहरी । सशस्त्र प्रहरीले सुनसरीको इटहरीमा वाहिनीपति कप प्रतियोगिता २०८० आयोजना गरेको छ । विभिन्न ५ विधाका खेल समावेश गरेर मंगलबारदेखि सुरु गरिएको प्रतियोगिताको समापन यही फागुन २५ गते हुने छ । वाहिनीपति कपले सशस्त्र प्रहरीभित्रको आन्तरिक खेलकुद गतिविधिलाई चलायमान बनाउनुका साथै राष्ट्रियस्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी मुख्यालय पकलीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन वाहिनीपति एवं कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले गरेका हुन् । संगठनको पेशागत गतिविधि चक्रअन्तर्गत वाहिनीपति कप आयोजना गरिएको सशस्त्रले जनाएको छ । डीआईजी पोखरेलका अनुसार प्रतियोगितअन्तर्गत फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबल टेनिसका खेलहरु समावेश गरिएको छ । वाहिनीपति कपमा फुटबल, भलिबल, ब्याडमिन्टन र टेबल टेनिसतर्फ ८/८ वटा टिमको सहभागिता रहेको छ । एथ्लेटिक्समा सशस्त्र प्रहरीका महिला र पुरुष गरेर १६ जना खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी डीआईजी पोखरेलले दिए । वाहिनीपति कपले फौजको व्यावसायिक क्षमता अभिवृद्धि, सामूहिक भावनाको विकास, जिम्मेवारीप्रतिको बफादारिता, व्यक्तिगत अनुशासन, उपलब्ध साधन स्रोतको सदुपयोग तथा व्यावसायिक प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ । प्रतियोगितामा वाहिनी मातहतका गण र गुल्महरुबाट ५ विधाका खेलमा १ सय २० जनाभन्दा बढी सशस्त्र प्रहरीका खेलाडी सहभागी रहेका छन् । वाहिनीपति कपअन्तर्गतको उद्घाटन खेलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गण हेड क्वार्टर इलाम र सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण हेड क्वार्टर त्रियुगा उदयपुरको फुटबल टिमबीच प्रतिस्पर्धा भएको थियो । फुटबलको उद्घाटन खेलमा इलामलाई टाइब्रेकरमा ७–६ गोल अन्तरले पराजित गर्दै उदयपुरले विजयी सुरुवात गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार