दमकमा गोली लागी गम्भीर भएकी छात्रा खतरामुक्त

शुक्रबार, २१ बैशाख २०८१
विराटनगर । झापाको दमकमा गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेरको शरीरमा लागेको गोली निकालिएको छ । परीक्षा दिएर फर्किँदै गरेकी एनिकाको आज दिउँसो सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए । उनको नाभि छेउमा गोली लागेको थियो । दमस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन् । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत थिइन् । एनिकाको अवस्था खतरामुक्त रहेको विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले बताए । उनले भने, ‘डाक्टरका अनुसार नानीको अवस्था खतरा मुक्त रहेको छ । गोलीले आन्द्रामा नछोएकाले उपचारमा सहज भएको जानकारी पाएको छु ।’ प्रअ श्रेष्ठका अनुसार उदयपुरकी एनिका ११ कक्षामा अध्ययन गर्न सो विद्यालयमा आएकी थिइन् । घटनामा संलग्न भनिएका यादवले उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए । एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन् । अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा एनिकाले आफूलाई उनले पढाएको र दमक आएपछि पनि एक-दुई पटक यादवसँग भेट भएको बताएकी छन् । अहिले यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको उनको भनाइ छ । गोली हान्नुको कारण खुलिसकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार