दुई करोड बढी पैसा ठगेर फरार भएकी धरानकी सपना राईबारे प्रहरी मौन, पीडितहरूको बिचल्ली

आइतबार, ३० बैशाख २०८१
धरान । आकर्षक ब्याज दिने लोभमा सर्वसाधारणको दुई करोड रुपैयाँ बढी रकम ठगेर फरार भएकी सुनसरी धरानकी (धनमाया) भनिने सपना राई दुई वर्ष बित्न लागेपनि अहिलेसम्म पक्राउ परेकी छैनन् । धरान उपमहानगरपालिका–१७ बस्दै आएकी राईले आकर्षक ब्याज दिने लोभ देखाउँदै धरानका महिलाहरूबाट दुई करोड बढी रकम उठाएर फरार भएकी थिइन । आठ महिनाअघि पीडितहरूले इलाका प्रहरी कार्यालय धरानमा उजुरी हालेपनि प्रहरीले समेत राईलाई खोजी गर्न र पक्राउ गर्न कुनै चासो नदिँदा पीडितहरू झन् पिडा खेप्दै बस्नु परेको गुनासो गर्न थालेका छन् । पटक पटक आफूहरू प्रहरी कार्यालयमा न्याय माग्दै जाँदा पनि प्रहरीले चासो नदिएको पीडितहरूको भनाइ छ । इलाका प्रहरी कार्यालय धरानका तत्कालीन प्रहरी नायब उपरीक्षक नवराज मल्लले राई बिरुद्धमा उजुरी परेको खण्डमा पक्राउ गरेर ल्याउने आश्वासन दिएपछि पीडितहरूले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । धरान १७ को रेल्वेमा आठ वर्षअघिदेखि भाडामा बस्दै आएकी राईले कसैसँग पैसा त कसैसँग सुनसमेत बन्धकी राखेर पैसा लगेको पीडित पूर्णिमा बस्नेतले बताइन । पीडित सर्वसाधारणले एक बर्ससम्ममा सपना फर्केर आउने बाटो हेरेको भए पनि नआएपछि खोजी गर्न सुरु गरेका थिए । सपनाले सर्वसधारणहरुबाट जनही ५० हजारदेखि माथि एकैजनाको ५० लाखसम्म पैसा लगेको पीडित बिनुका विष्टले बताइन । पीडित विष्टले सम्बन्ध राम्रो भएकै कारण विश्वासको भरमा पैसा दिएपनि अहिले फरार भएकाले निकै तनावमा रहेको सुनाइन् । सपनाले उनीकहाँ २३ लाख रुपैयाँ लिएकी थिइन् । ‘न सावाँ रकम हात लाग्यो, न ब्याज नै,’ बिस्टको गुनासो छ, ‘त्यसबेला साथीलाई भनेर विश्वास गरेकाले श्रीमानलाईसमेत थाहै नदिई पैसा सापटी दिएँ, अहिले पैसाकै कारण घरपरिवार नै बिग्रने अवस्था आइसक्यो ।’ यस्तै पाँच तोला सुन साथै नगदसमेत गरेर ११ लाख बुझाएकी स्थानीय सुमित्रा राईले सुन उकास्न नसकेर पसलमै सुन बेच्न बाध्य भएको बताइन् । ‘मैले ब्याजमै ऋण लिएर दिएकी थिएँ,’ उनले भनिन्, ‘विश्वासको भरमा पर्दा अहिले आफ्नै बिचल्ली भयो ।’ तस्बिरःफाइल यता पीडित इन्दिरा बस्नेतले पैसा फसेर बिल्लिबाठ हुने अवस्था आएपछि आफू मानसिक रूपमै समस्यामा परेको बताइन् । स्थानीय पीडित भीमबहादुर चौहानले गाउँलेहरूलाई प्रलोभनमा पारेर ती महिलाले ठगी गरेकोबारे कसैलाई थाहै नभएको बताए । ‘‘एकले अर्काको बारेमा थाहै भएन । त्यही भएर सबैको पैसा फसेको रहेछ,’ उनले भने, ‘हेर्दा विश्वास गर्न लायक भए पनि व्यवहारमा त्यसो रहेनछ । गाउँले सबै ठगिँदा मात्रै थाहा भयो ।’ सपनाबाटै यसरी ठगिनेमा स्थानीय तारा विष्ट, अस्मिता गुरागाईँ, प्रेमदिकी शेर्पा, तारा चौहान, टीका चौहान, चन्द्रकला राई, शारदा श्रेष्ठ, कुमारी भण्डारी, अरुण भण्डारी, बद्री कार्की, मनमाया थापा लगायत छन् । म सँग पैसाको कारोबार भएको छ भनेर कसैलाई नसुनाउनु’ भनेर सपनाले गाउँलेसँग पैसा उठाउने गरेको पीडितहरू बताउँछन् । श्रीमान् र दुई छोराहरूसँग बस्दै आएकी सपना फरार भएको गत असोज १५ गते एक वर्ष पूरा भएको छ । तर, फरार रहेकी सपनाको अत्तोपत्तो नहुँदा पीडितहरू समस्यामा परेका छन् । यता, यस विषयमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) मान बहादुर राईले आफू भर्खर मात्र प्रहरी कार्यालय धरान आएको बुझेर जानकारी दिने बताए ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार