कोशी प्रदेशमा पर्यटन वर्ष : छ महिनामा १५ लाख पर्यटक भित्र्याउने लक्ष्यतर्फ प्रदेश सरकार

शुक्रबार, ०७ कार्तिक २०८२

विराटनगर : प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष–२०८२ मनाइरहेको छ । भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको छ महिना पूरा भएको छ ।

भारतको बिहारका कमलेश शर्मा चार जनाको परिवारसहित एक सातादेखि नेपाल भ्रमणमा छन् ।

इलामको कन्याममा भेटिएका शर्माले यसअघि साथीहरूसँग नेपाल आएको अनुभव सुनाउँदै यसपटक परिवारसहितको भ्रमण सहज र रमाइलो भएको बताए । उनका अनुसार सस्तो मूल्यमा राम्रो सेवा पाइने भएकाले भारतीय पर्यटक नेपाल घुम्न रुचाउँछन् ।

पर्यटन वर्षको सुरुवाती तीन महिनामा विभिन्न प्रचार–प्रसार कार्यक्रम चले पनि पछिल्ला तीन महिनामा ती गतिविधि घटेका छन् ।

‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ नारासहित सुरु गरिएको कार्यक्रममा सरकारसँगै निजी क्षेत्रको सहभागिता रहेको कोशी पर्यटन वर्ष–२०८२ का सह–संयोजक भविष श्रेष्ठले बताए । उनका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रका पर्यटक पनि आकर्षित भएका छन् ।

कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन पर्यटन वर्ष मनाइएको हो ।

पर्यटनबाट वैदेशिक ऋण र व्यापार घाटा कम गर्न सकिने भन्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऊर्जा, जलविद्युत्, पर्यटन र जडीबुटीका क्षेत्रमा काम भइरहेको बताए । प्रदेशमा करिब पाँच सय पर्यटकस्तरका होटल र डेढ सय वानस्टारदेखि फाइभस्टार स्तरका होटल सञ्चालनमा छन् । यी होटेलमा दैनिक करिब तीन हजार पर्यटक बस्न सक्ने क्षमता रहेको श्रेष्ठले जानकारी दिए ।

गत महिना पहाडी जिल्लामा आएको बाढीपहिरोले पर्यटन क्षेत्रमा असर पारेको बताउँदै छठ पर्वपछि थप प्रचार–प्रसार कार्यक्रम सुरु गरिने उनको भनाइ छ ।

कोशी प्रदेश भौगोलिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले आकर्षक गन्तव्य मानिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो भूभाग कचनकवलसम्मका विविध स्थल यस प्रदेशमा छन् ।

इलामको श्रीअन्तुडाँडामा सूर्योदय हेर्न दैनिक हजारौँ पर्यटक पुग्ने गर्छन् । कोशीटप्पु आरक्षमा चराचुरुङ्गी अवलोकन र वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गर्छन् ।

प्रदेश सरकारले १३ स्थानलाई पर्यावरणीय गन्तव्य र १० स्थानलाई ट्रेकिङ ट्रेलका रूपमा सूचीकृत गरेको छ ।

सरकारी तथ्यांकअनुसार सगरमाथा अवलोकनका लागि ४३ प्रतिशत बाह्य र ५७ प्रतिशत आन्तरिक पर्यटक हरेक वर्ष कोशी प्रदेशमा आउँछन् । धनकुटाको घिन्ताङ, ताप्लेजुङको पाथीभरा, खोटाङको हलेसी र सुनसरीको बराह क्षेत्र धार्मिक पर्यटनका प्रमुख स्थल हुन् ।

इलामको चियाबारी, धनकुटाको भेडेटार, भोजपुरको ट्याम्केमयुङडाँडा, पाँचथरको साधुटारलगायत स्थान आकर्षक गन्तव्य हुन् ।

सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से र चोयुल हिमशृङ्खलाले विदेशी पर्यटकलाई आकर्षित गर्छन् । सगरमाथा, मकालु र कञ्चनजङ्घा बेस क्याम्पसम्मको ट्रेक साहसिक पर्यटनका लागि लोकप्रिय मानिन्छ । फाल्गुनन्द ट्रेकिङ, मुन्दुम ट्रेल र सभापोखरी ट्रेक पर्यावरणीय पर्यटनका प्रमुख मार्ग हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार