गाउँपालिकाले खर्च तिर्ने कागज गर्छु भन्दा पनि विराट नर्सिङले शव दिन मानेन

मंगलबार, ०८ जेठ २०८१
विराटनगर: विराटनगरस्थित विराट नर्सिङ होममा सप्तरीको बलानबिहुल गाउँपालिका– २ की श्यामकुमारी रामको मृत्यु भएको चार दिन भयो । मृतकको सद्गतका लागि परिवारका सदस्य शव आउने बाटो हेरेर भोकभोकै छन् । तर, अस्पतालले सबै उपचार खर्च नउठेको भन्दै शव दिन इन्कार गरिरहेको छ । यतिसम्म कि गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवसहितको टोली अस्पतालमै गएर पालिकाले नै खर्च व्यहोर्ने गरी कागज गर्न प्रस्ताव गर्दासमेत अस्पतालले शव दिन अस्वीकार गरेको छ । पालिका अध्यक्ष यादव, उपाध्यक्ष रेणु यादवसहित स्थानीयको टोली सोमबार साँझ अस्पताल पुगेको छ । उपचार खर्च पालिकाले तिर्ने गरी कागज गरेर शव उठाउन दिन आग्रह गरे पनि अस्पतालले नमानेको अध्यक्ष यादवले बताए । ‘अस्पताल बिलको ३० प्रतिशत छुट दिन तयार छ, तर उहाँहरू बाँकी रकम नगदै माग्दै हुनुहुन्छ,’ अध्यक्ष यादवले भने, ‘केही रकम श्यामकुमारीका श्रीमान्ले तिरिसक्नुभएको छ । थप डेढ लाख उहाँले तिर्न खोज्दै हुनुहुन्छ । बाँकी रकम गाउँपालिकाले तिर्छ, अहिले कागज गरेर शव दिनुहोस्, कार्यपालिकाको बैठक बसेर निर्णय गराई चेक दिन्छौँ भन्दा पनि उहाँहरूले मान्नुभएन ।’ शव माग्दै पालिका नेतृत्वको टोलीले अस्पतालमै धर्ना दिएको छ । श्यामकुमारीको उपचारका क्रममा अस्पताल र फार्मेसीमा गरी साढे २० लाख बिल उठेको थियो । जसमध्ये अस्पतालको मात्रै १२ लाख ५० हजार बिल उठेकोमा तीन लाख ७५ हजार मृतकका श्रीमान् रमेश रामले तिरिसकेका छन् । अस्पतालले ३० प्रतिशत छुट दिने भनेपछि अब बुझाउनुपर्ने पाँच लाख हुन आउँछ । यसमा डेढ लाख पीडितले नै बुझाउने भनेका छन् भने बाँकी साढे तीन लाख गाउँपालिकाले व्यहोरिदिन खोजेको छ । मृतकका श्रीमान् उमेशले ‘अन्तिम संस्कार त गर्न देऊ’ भनेर शव माग्दा पनि नपाएको बिलौना गरे । ‘अस्पताल मान्दैन, नगदै खोजिरहेछ,’ उनले भने, ‘ट्र्याक्टरका मालिक फरार छन् । चालक कारागारमा छन् । उनीहरू आएपछि पैसा त आउँथ्यो होला । अहिले बिल तिर्ने पैसा भएन ।’ अस्पतालका लेखा अधिकृत सुवास पोखरेलले नगद नआएसम्म शव दिन नसकिने बताए । ‘लाखौँ रुपैयाँको कुरा छ, कागजका भरमा कसरी छाड्नु । नगद पाउनुपर्छ, हामीले पनि अस्पताल चलाउनुपर्छ,’ उनले भने । ५ चैतमा स।१त ३२८ नम्बरको ट्र्याक्टरले सप्तरीको बोदेबरसाइन नगरपालिका– १ मा ठक्कर दिएपछि घाइते भएकी श्यामकुमारीको ३ जेठमा उपचारका क्रममा ज्यान गएको थियो । उनको शव लैजानका लागि अस्पतालको बिल तिर्न खोजिए पनि फार्मेसीमा पनि बाँकी नै छ । मृतकका श्रीमान् उमेशका अनुसार फार्मेसीको आठ लाखमध्ये पाँच लाख २५ हजार यसअघि नै तिरिसकिएको छ । दुई लाख ७५ हजार तिर्न बाँकी छ । घरछेउकै एक कट्ठा जग्गा तीन लाखमा बेचेर तथा साहुकारबाट पाँच लाख ऋण लिएर अस्पताल र फार्मेसीलाई पैसा तिरे पनि बाँकी पैसा जोहो गर्न नसकेको उमेशले बताए । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक लिलम उप्रेतीका अनुसार श्यामकुमारीलाई ठक्कर दिने ट्र्याक्टरका चालक श्रवण सदाय पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत सप्तरीले उनलाई ४ वैशाखमा पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । ट्र्याक्टर मालिक बलराम साहले सुरुमा एक लाख रुपैयाँ उपचारका लागि दिएका थिए । त्यसपछि उनी फरार रहेकाले उपचार खर्च तिर्ने सहमति नभएको प्रहरी निरीक्षक उप्रेतीले बताए । श्रीमती दुर्घटनामा परेका वेला उमेश वैदेशिक रोजगारीका क्रममा कतारमा थिए । उमेशका दुई छोरी र एक छोरा छन् । दलित आयोगको ध्यानाकर्षण दलित आयोगले उपचारको रकम तिर्न नसक्दा महिलाको शव अस्पतालमै रहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले अस्पतालको यो रवैया निन्दनीय रहेको बताए । ‘दलितमाथिको यो व्यवहार क्षमायोग्य छैन । आज कार्यव्यस्तताले बैठक बस्न सकेनौँ, मंगलबार बैठक बसेर अस्पताललाई कारबाहीका लागि सरकारलाई पत्र पठाउनेछौँ,’ उनले भने । कार्यपालिकाबाट निर्णय गरेर चेक दिन्छौँ भन्दा पनि मानेनन् खेमचन्द्र यादव, अध्यक्ष, बलानबिहुल गाउँपालिका राति साढे १२ बजिसक्यो, हारगुहार गरिरहेका छौँ । अस्पताल बिलको ३० प्रतिशत छुट दिन तयार छ, तर बाँकी रकम नगद मागिरहेको छ । केही रकम मृतकका श्रीमान्ले तिरिसक्नुभएको छ । थप डेढ लाख उहाँले तिर्न खोज्दै हुनुहुन्छ । बाँकी हुने रकम गाउँपालिकाले तिर्छ, अहिले कागज गरेर शव दिनुहोस्, कार्यपालिकाको बैठक बसेर निर्णय गराई चेक दिन्छौँ भन्दा पनि नर्सिङ होमले मानेको छैन । अमानवीय व्यवहार भयो । आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार