‘स्लोभाकिया जान पाउने भनेपछि ओभरसिजमा काम गर्ने महेन्द्र खतिवडालाई कागज नै गरेर मैले ३ महिनाअघि पैसा बुझाएको हुँ,’ गिरी भन्छन्, ‘तर, ऋण गरेर बुझाएको पैसा खाइदिएपछि हाम्रो बिचल्ली भयो ।’ दी रिभर ओभरसिज मेनपावरका नाममा ठगिने गिरी त प्रतिनिधि पात्र मात्रै हुन् ।
ओभरसिजका कर्मचारी बताउने खतिवडाबाट उनीजस्ता ५० जनभन्दा बढी ठगिएका छन् । पैसा बुझाएका तर, विदेश जान नपाएका पीडितहरूको यति बेला प्रहरी कार्यालयमा भीड लागेको छ ।
पैसा फिर्ता पो भइहाल्छ कि भन्ने आशा बोकेर उनीहरू प्रहरी कार्यालय धाउँदैछन् । ठगीमा संलग्नलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ । विदेश जान खोज्नेलाई आफ्नो जालमा पारेर खतिवडाले ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
केही पीडितहरूले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले खतिवडालाई बुधवार पक्राउ गरेको थियो । झापाको गौरादह घर भएका कुमार भट्टराइले आफूले भात खानका लागि जोहो गरेर राखेको धान बिक्री गरेर खतिवडालाई पैसा बुझाएको बताए । पोल्यान्ड पठाउने भनेपछि आफूले ४ लाख बुझाएको उनी बताउँछन् ।
‘ट्याक्टर चलाउँदै थिएँ । पोल्यान्डको चक्करमा त्यो पनि बिक्री गरिदिएँ,’ भट्टराईले प्रदेश खबरसँग भने, ‘दलालले ४ लाख रुपैयाँ पनि झ्वाम्म पारिदियो । अहिले यता न उताको भएको छु ।’ दी रिभर ओभरसिजमा काम गर्दै आएका खतिवडा पक्राउ परेसँगै उनीबाट ठगिएर पीडित भएकाहरू इलाका प्रहरी कार्यालय इटहरीको सम्पर्कमा आउन थालेका हुन् ।
खतिवडाबाट ठगिनेहरूमा सुनसरी, झापा, मोरङ, इलाम, सङ्खुवासभालगायतका रहेको प्रहरीले जनाएको छ । ‘खतिवडाले पोल्यान्ड, मकाउ, स्लोभाकिया, कुवेतलगायतका देशमा पठाउने भनेर विश्वासमा पार्दै विभिन्न जिल्लाका व्यक्तिहरूसँग पैसा उठाएर झ्वाम्म पारेको पाइयो,’ प्रहरी स्रोत भन्छ, ‘करिब डेढ करोड रुपैयाँ ठगी गरेको अनुमान छ ।’
झापाको गौरादहकै हरि चापागाईँले कुवेत जानका लागि भन्दै २ लाख २० हजार बुझाएको भए पनि अहिलेसम्म नलगेपछि आफू ठगिएको थाहा भएको बताए । खतिवडाले गौरादहकै महिष खनाल र इटहरीकी आश्मा सुवेदीबाट ३-३ लाख लिएको खुलेको छ । त्यस्तै, इटहरीकै नितेश निरौला, सुदीप प्याकुरेल, नगेन्द्र भण्डारी, सुनसरी गढी गाउँपालिकाका दीपक परियार, रितिक परियार, भुवन दाहाल, अशोक उराउ, उमेश उराउ, रविन मगरसमेत खतिवडाको ठगी धन्दाको जालोमा परेका छन् ।
कक्षा १२ उत्तीर्ण गरेर बसिरहेकी इटहरीकी आश्मा सुवेदी मकाउ जाने योजनामा थिइन् । पैसा बुझाएपछि खतिवडाले इटहरीकै आरम्भ मेडिकल हलमा लगेर उनको स्वास्थ्य परीक्षण गराए । त्यसबापत सुवेदीले ६ हजार रुपैयाँ तिरिन् ।
‘अफर लेटर’ आइसकेकाले पैसा ढिलो भयो भने उडाउन नसक्ने भन्दै अत्याएर खतिवडाले आफूलाई झुकाएको गुनासो उनको छ । ‘बा मकाउ जान नपाइने हो कि भन्ने लागेर हतारपतार ऋण पान गरी पैसा बुझाएँ,’ उनी भन्छिन्, ‘तर, अहिले जान नपाएपछि ठगिएको थाहा भयो ।’
यता दी रिभर ओभरसिज इटहरी शाखाका प्रबन्धक सन्तोष राईले आफ्नो कार्यालयले कसैको पनि पैसा नउठाएको दाबी गरे । खतिवडा कार्यालयमा आएर बस्ने गरेको भए पनि ओभरसिजसँग आबद्ध नहरेको भन्दै उनी पन्छिए । तर, पीडितहरूले भने ओभरसिजकै कार्यालयमा पुगेर पैसा बुझाएको बताउँदै आएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, डिएसपी टेकबहादुर कार्की पक्राउ परेका खतिवडाविरुद्ध ३ वटा मुद्दा चल्नसक्ने बताउँछन् । ‘ठगी, चेक बाउन्स र अभद्र व्यवहार गरेको भनेर जाहेरी परेको छ,’ कार्कीले भने, ‘अनुसन्धानबाट तथ्य स्थापित गर्दै खतिवडाविरुद्ध मुद्दा दर्ता गरिने छ ।’ उनका अनुसार खतिवडाले मेनपावरको नाम लिएर सर्वसाधारणमाथि ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया