विराटनगर । मोरङको सुन्दरहरैँचाबाट प्रहरीले लागूऔषधका नामुद कारोबारीलाई पक्राउ गरेको छ ।
सुन्दरहरैँचा नगरपालिका–४ बाट ४४ वर्षीय अमृतबहादुर भुजेल पक्राउ परेका हुन् । उनी लागूऔषध मुद्दामा फरार थिए । लागूऔषध मुद्दाको अनुसन्धानका लागि प्रहरीले सुनसरी अदालतबाट यसअघि नै पक्राउ अनुमति लिए पनि फरार भएका कारण उनी पक्राउ परेका थिएनन् । अहिले भुजेल लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका छन् ।
उनलाई प्रहरी चौकी गछिया र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पिट)को संयुक्त टोलीले सोमाबार बिहान ११ बजेतिर पक्राउ गरेको हो । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ का स्थायी बासिन्दा भुजेलको घर सुनसरीको धरान उपमहानगरपालिका–१५ मा पनि छ । प्रहरीका अनुसार तेह्रथुम र धरान दुवैतिर घर भएपनि उनी सुन्दरहरैँचा–४ स्थित योगकुमारी श्रेष्ठको घरमा कोठा भाडामा लिएर बस्दै आएको पत्ता लागेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले डेरा बसेकै घरबाट भुजेललाई ब्राउन सुगरसहित पक्राउ गरिएको जानकारी दिए । कोठामा खैरो हेरोइन लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा भुजेलको कोठामा छापा हान्न प्रहरी पुगेको थियो । बस्नेतका अनुसार कोठा खानतलासी गर्दा ३२ ग्राम ७ सय ४० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ ।
भुजेलको साथबाट ६० हजार रूपैयाँ नगद र २ वटा मोबाइल पनि बरामद भएको र उनले प्रयोग गर्ने प्रदेश १–०२–०५१ प ५३६६ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिइएको जानकारी डीएसपी बस्नेतले दिए । लागूऔषध मुद्दाको अनुसन्धानका लागि प्रहरीले भुजेलविरुद्ध जिल्ला अदालत सुनसरीबाट २०८० साल माघ २६ गते पक्राउ अनुमति लिएको थियो ।
प्रहरीले पक्राउको तयारी गरिरहेको सुइँको पाएर त्यतिबेला भागेका उनी लगभग ५ महिनापछि अहिले लागूऔषधसहित पक्राउ परेका हुन् । प्रहरीलाई छल्नका लागि भुजेलले घर नै छाडेका थिए । घर छाडेर फरार बनेका उनी सुन्दरहरैँचामा डेरा खोजेर लुकिपिछी बस्दै आएको पत्ता लागेको छ । डेरा बसेको ठाउँबाट पनि लागूऔषधकै कारोबार चलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार विगत लामो समयदेखि भुजेल लागूऔषधको कारोबारमा संलग्न थिए । लागूऔषध ओसारपसार एवं कारोबारका विभिन्न घटनामा उनको नाम जोडिएको छ । प्रहरीका अनुसार भारतबाट खैरो हेरोइन ल्याएर विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने धन्दामा उनको संलग्नता रहेको छ । भुजेलविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट सोमाबार म्याद थप गरेको छ । डीएसपी बस्नेतले भुजेलमाथि अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्रतिक्रिया