मनसुन सक्रिय हुनासाथ विपद्का घटनामा बढोत्तरी, अहिलेसम्म ५७ जनाको मृत्यु

शुक्रबार, २१ असार २०८१
काठमाडौं । मनसुन सुरु भएको एक महिना नहुँदै विभिन्न प्रकोपका कारण ५७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंशजस्ता कारणबाट अहिलेसम्म ५७ जनाको मृत्यु भएको हो । तीन जना बेपत्ता छन् । विपत का कारण एक सयबढी घाइते भएका छन् भने हजार भन्दा बढी घरपरिवार प्रभावित भएका छन् । मनसुनपछिको विपद्का कारण २० करोड ७३ लाख बराबरको क्षति भइसकेको छ । यस वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएपनि सातापछि मात्र सक्रिय भएको थियो । अबको केही दिन मनसुनी प्रभाव पूर्वदेखि सुदूरपश्चिमसम्म अझ बढ्ने सम्भावना छ । विगत २४ घण्टामा देशका विभिन्न भूभागमा २९ वटा पहिरो गएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मध्य तथा सुदूरपश्चिसम्मको भूभागमा मुसलधारे वर्षा हुने पूर्वानुमान गरेसँगै बाढी पहिरोसहितका विपतको जोखिम थप उच्च बनेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार तत्काल मौसममा सुधार हुने अवस्था छैन । विभागले बिहीबार जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्व र मध्य भूभागमा बढी वर्षा भएको छ । केही दिन पश्चिम, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने छ । अबका केही दिन गण्डकी, कर्णाली र सुदूरपश्चिममा निकै ठुलो वर्षा हुने देखिएको छ । मनसुनको न्यूनचापीय रेखा उत्तरबाट सर्दै नेपालको दक्षिण सीमा आसपास रहेकाले मनसुनको सक्रियता पश्चिमी भेगमा बढ्ने विभागको अनुमान छ । विभागले वाढी र पहिरोको जोखिम केही दिन रहने भन्दै उच्च सर्तकता अपनाउन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार