विराटनगर । तस्करीको लाइन चलाएर अवैध असुली गरेको विषयलाई लिएर सशस्त्र प्रहरी बल मोरङका प्रमुख, एसपी विश्व खड्कामाथि छानबिन सुरु भएको छ ।
खड्कालाई हेडक्वार्टर तानेर छानबिन एवं अनुसन्धान सुरु गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी कुमार न्यौपानेले बताए । एसपी खड्का सशस्त्र प्रहरी प्रमुखको जिम्मेवारी पाएर २०८० फागुन पहिलो साता मोरङ आएका हुन् । अवैध धन्दा गर्ने समूहसँग साँठगाँठ गरेर तस्करीको लाइन चलाउन मद्धत गर्दै अवैध असुली गरिरहेको आरोप उनीमाथि लागेको छ ।
एसपी खड्काले भारतबाट भन्सार छली गरेर नेपाल भित्राइएका तस्करीका सामान नियन्त्रणमा लिँदै मोटो रकम लिएर छाड्ने गरेको समेत पाइएको छ । लगभग १ महिनाअघि भारतबाट तस्करी गरेर सवारीसाधनको प्रयोग गरी ल्याएको चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
विराटनगरका व्यापारी विनोद केशरीले ल्याएको उक्त चिनी गाडीसहित बरामद गरेपछि एसपी खड्काले अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउनुपर्ने थियो । तर, मोटो रकम लिएर त्यत्तिकै छाडिदिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार किराना सामानको व्यापार गर्ने केशरीले अहिले सशस्त्रसँग मिलेर नेपाल–भारत सीमा क्षेत्रबाट तस्करीको धन्दा चलाइरहेका छन् ।
नेपाल–भारत सीमा क्षेत्रबाट तस्करीको लाइन चलाएर अवैध असुली गरिरहेको तथा पैसा लिएर तस्करीका सामान छाडेको पाइएपछि बिहीबार काठमाडौंस्थित हेडक्वार्टर तानेर खड्कामाथि छानबिन सुरु गरिएको सशस्त्र उच्च स्रोतले बतायो । सशस्त्रका प्रवक्ता न्यौपानेले आन्तरिक हिसाबले केही कुरा बुझ्नुपर्ने भएकाले एसपी खड्कालाई हेडक्वार्टर झिकाइएको जानकारी दिए । आईजीपी राजु अर्यालकै निर्देशनमा खड्का हेडक्वार्टर तानिएका हुन् ।
डीआईजी न्यौपाने तस्करीलगायतका अवैध धन्दा नियन्त्रणमा लिन र कारबाही गर्न मातहतका युनिटलाई आईजीपी अर्यालले स्पष्ट निर्देशन दिएको बताउँछन् । ‘आईजीपी साबले अवैध धन्दा नरोकेमा र तस्करको समूहसँग मिलेमतो गरेमा कारबाही गर्छु भनेर स्पष्ट निर्देशन दिनु भएको छ । पछिल्लो समयमा निर्देशनको पालना भयो कि भएन भनेर बुझ्नुपर्ने भयो,’ उनले भने, ‘आन्तरिक हिसाबले पनि केही कुराको जानकारी लिनुपर्ने अवस्था आयो । त्यही भएकाले एसपी खड्कालाई हेडक्वार्टर तानेर छानबिनको दायरामा ल्याइएको छ ।’
खड्काका बारेमा थप बुझ्ने काम भइरहेको बताउँदै न्यौपानेले गलत गरेको पाइएमा कारबाही गरिने उल्लेख गरे । खड्कालाई काठमाडौं तानेपछि डीएसपी लोकनाथ उप्रेतीले मोरङको सशस्त्रको निमित्त प्रमुखको जिम्मेवारी पाएका छन् । स्रोतका अनुसार मोरङ आएयता अवैध धन्दा चलाइरहेको समूहसँग खड्काले राम्रो सम्बन्ध बनाएका थिए । तस्करीमा संलग्नबाट मोटो रकम बुझेर लाइन चलाउन सहयोग गरिदिने गरेको सूचना पुगेलगत्तै उनी हेडक्वार्टको निगरानीमा परेको उच्च स्रोतले बतायो ।
स्रोतका अनुसार गलत काम गरेको केही न केही प्रमाण भेटिएकै कारण उनलाई अहिले हेडक्वार्टर तानिएको हो । एसपी खड्काले अवैध असुलीकै लागि सहायक हवल्दार ओमप्रकाश श्रेष्ठलगायतका सशस्त्रलाई घुमुवा बनाएर खटाएका थिए । श्रेष्ठ अहिले पनि घुुमुवाकै जिम्मेवारीमा छन् ।
‘सशस्त्रको मिलेमतोमा गाईगोरु, मटर, चाइनिज स्याउ, सुपारीलगायत नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ,’ स्रोतले भन्यो, ‘भारतबाट धान, गहुँलगायतका खाद्यान्नका परिकार, किराना सामान, लत्ताकपडा, गाडीका पार्टपूर्जा, हार्डवेयरका सामानलागयत भन्सार छली गरेर नेपाल भित्राउने गरिन्छ ।’ सीमा सुरक्षा तथा तस्करी नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्रको साथ पाएपछि भारतसँग खुला सीमा रहेका कोशी प्रदेशका झापा, सुनसरी र मोरङमा पछिल्लो समय तस्करी बढेको छ ।
सशस्त्र प्रहरी बल कोशी प्रदेशको प्रमुखका रूपमा डीआईजी अन्जनीकुमार पोखरेल हुँदा संस्थागत रूपमा हुने गरेको तस्करी ठप्प थियो । उनले तस्करी रोक्न ठूलो मिहिनेत गरेका थिए । डीआईजी पोखरेलको योगदानकै कारण राजस्व संकलन पनि ह्वात्तै बढेको थियो । तर, सशस्त्रको प्रदेश प्रमुखमा डीआईजी शम्भु सुवेदी आएपछि वैशाखयता लाइन चालु भएर खुलेआम तस्करी भइरहेको छ । जसको असर राजस्व संकलनमा परिरहेको भन्सारका अधिकारीहरु बताउँछन् ।
सीमा क्षेत्रका एक जना वडाध्यक्ष तस्करी रोक्नुपर्ने निकाय नै अवैध धन्दा चलाउनेहरुसँग मिलिरहेको बताउँछन् । अहिले सीमा क्षेत्रबाट व्यापक मात्रामा तस्करी भइरहेको उनको भनाइ छ । उनी राज्यका निकायकै ‘सेटिङ’मा तस्करीले प्रसय पाउँदा त्यसको असर राजस्व संकलनमा परेको बताउँछन् ।
यस विषयमा बुझ्न खोज्दा सशस्त्रका कोशी प्रदेश प्रमुख डीआईजी शम्भु सुवेदी सम्पर्कमै आउन चाहेनन् । सशस्त्रको इन्सपेक्टर बताउने एक जनाले उनको फोन उठाएका थिए । फोन उठाएर केहीबेरमा कुरा गर्छु भनेका सशस्त्रका प्रदेश प्रवक्ता एसएसपी मनिष थापा त्यसपछि सम्पर्कमै आएनन् । एसपी खड्का भने लाइन चलाएको र अवैध असुली गरेको कुरामा कुनै सत्यता नभएको बताउँछन् । आफू बिदामा रहेको उनको जिकिर छ । ‘म ७ दिनको बिदामा छु । हेडक्वार्टरले तानेको हैन,’ खड्काले भने, ‘काठमाडौं आएको २/३ दिन भयो । केही दिनभित्र फर्किन्छु ।’
मातहतका युनिटलाई थाहै छैन
खड्का काठमाडौं तानिएपछि डीएसपी लोकनाथ उप्रेतीलाई मोरङमा सशस्त्रको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । जिल्लामा सशस्त्रको गण मातहतमा अरु युनिटहरु हुन्छन् । आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन, समन्वय, आवश्यक निर्देशन दिनेलगायतको जिम्मेवारी गणको हुन्छ । तर, गणले मातहतका युनिटसँग आवश्यक समन्वय नगर्ने गरेको पाइएको छ । अर्कोतर्फ एसपी खड्कालाई हेडक्वार्टर तानेको विषय मातहतका युनिट इन्चार्जहरुलाई थाहै छैन ।
सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म रानीका प्रमुख, डीएसपी देवराज विष्टले मोरङमा निमित्त प्रमुखको जिम्मेवारी कसलाई दिएको छ भनेर आफूलाई थाहा नभएको बताए । ‘केही काम पर्दा एसपी साबसँगै कुरा हुन्छ । अरु मलाई थाहा भएन,’ उनले भने, ‘एसपी साबलाई काठमाडौं तानेको कुनै जानकारी छैन । तपाईंले भनेपछि पो थाहा भयो ।’ डीएसपी विष्टको भनाइबाट पनि सशस्त्रको माथिल्लो कार्यालय र मातहतका युनिटबीच आवश्यक र प्रभावकारी समन्वय समन्वय नहुने गरेको प्रष्ट हुन्छ ।
जतिबेला पनि सम्पर्कमा रहनुपर्नेबीच समन्वयको अभाव देखिँदा सशस्त्रको कामकारबाही प्रभावकारी छैन भन्ने पर्याप्त ठाउँ भेटिएको छ । सशस्त्रका डीएसपी एवं निमित्त गणपति उप्रेतीले भने सबै युनिटसँग नियमित समन्वयमा रहेर कामकारबाहीका सवालमा आवश्यक निर्देशन दिने र नियमित अनुगमन गर्ने काम भइरहेको उल्लेख गरे । ‘गण र अरु युनिटबीच समन्वय नहुने कुरै हुँदैन,’ उनले भने ।
मोरङमा बीओपी र बेससमेत गरेर सशस्त्रका २४ वटा युनिटहरु छन् । नेपाल–भारत सीमा क्षेत्रमा मात्रै १३ वटा युनिट छन् । तर, पछिल्लो समय सबैजसो युनिटका इन्चार्ज तस्करीको लाइन चलाएर अवैध असुली गर्ने धन्दामा सक्रिय रहेको आरोप लाग्ने गरेको छ ।
प्रतिक्रिया