कोशी प्रदेशमा पूर्वमुख्यमन्त्रीले पाउदै आएको सुविधा खोसीयो

बुधबार, २६ असार २०८१
विराटनगर । कोशी प्रदेशमा पूर्वमुख्यमन्त्रीले पाउँदै आएको गाडी सुविधा खोसिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८०’ खारेज गरेका छन् । अध्यादेश खारेज भएसँगै पूर्वमुख्यमन्त्रीले पाउँदै आएको गाडीको सुविधा खोसिएको हो । कोशीको असार २० गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुख खापुङले मंगलबार अध्यादेश खारेज गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । केदार कार्की नेतृत्वको तत्कालीन सरकारले प्रदेशका पदाधिकारी तथा पूर्वमुख्यमन्त्रीलाई राज्यकोषबाट सुविधा दिनेगरी अध्यादेश ल्याएको थियो । २०८० पुस २६ गते प्रदेशसभाको अधिवेशन अन्त्य गरेका तत्कालीन मुख्यमन्त्री कार्कीले ६ माघमा अध्यादेश जारी गर्दै प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सम्बन्धी ऐन २०७५ को दफा २ को ‘ख’ संशोधन गरी प्रदेशसभाका पदाधिकारीको संख्या थप गरेका थिए । ऐनमा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्षी दलको नेता, सत्ता पक्ष दलको सचेतक र प्रदेशसभा समितिका सभापतिलाई मात्र प्रदेशसभाको पदाधिकारीमा राखिएको थियो । अध्यादेशमार्फत प्रदेशसभाका सदस्य रहेका पूर्वमुख्यमन्त्री र सरकारमा सहभागी दलका संसदीय दलका नेता र प्रतिपक्षी दलका संसदीय दलका नेतालाई पनि पदाधिकारीको सूचीमा राखिएको थियो । अध्यादेशमार्फत प्रदेश जनस्वास्थ्य ऐन २०७७ लाई संशोधन गर्दै जिसस प्रमुखको अधिकार पनि खोसिएको थियो । ऐनमा प्रदेश मातहतका सरकारी अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष जिल्ला समन्वय समितिको प्रमुख हुने प्रावधान थियो । अध्यादेशमा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष प्रदेश सरकारले नियुक्त गर्ने उल्लेख थियो । अध्यादेश खारेज भएपछि ऐनको पुरानै व्यवस्था कायम भएको छ । यसैबीच, अध्यादेश खारेज भएसँगै कांग्रेस नेता केदार कार्कीले गाडी फिर्ता गरेका छन् । उनले पूर्वमुख्यमन्त्रीको हैसियतमा को १ झ ६२९ नम्बरको सरकारी गाडी प्रयोग गरिरहेका थिए । कार्कीले उक्त गाडी मंगलबार नै फिर्ता गरेका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार