विराटनगरबाट १०२ किलो गाँजासहित कार नियन्त्रण, ३ जना पक्राउ

आइतबार, ३० असार २०८१
विराटनगर । विराटनगरबाट १ सय २ किलोग्राम गाँजासहित एउटा कारलाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको छ । कारमा राखेर गाँजा ओसारपसार गर्ने ३ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कारबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार विराटनगर महानगरपालिका–४ इक्राहीस्थित भित्री सडक खण्डमा बा ६ च ४६८९ नम्बरको कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा लागूऔषध गाँजा फेला परेको हो । कारमा गाँजा ओसारपसार भइरहेको सूचना आउनसाथ नियन्त्रणमा लिन एसपी कार्कीले टोली परिचालन गरेका थिए । प्रहरीले दिउँसो ३ बजेतिर कार नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । प्रहरीले खानतलासी गर्दा कारको डिकीमा गाँजा भेटिएको हो । एसपी कार्कीले गाँजा ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा कार चालक मोरङको केराबारी गाउँपालिका–५ का ३६ वर्षीय सुरेश लिम्बू, धनकुटाको साँगुरीगढी गाउँपालिका–२ का ३४ वर्षीय सुभाष नोयोहाङ र सुनसरीको धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीया लक्ष्मी राई विक रहेका छन् । कार्कीका अनुसार पक्राउ परेकाहरुसहित बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको कारलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । यस सम्बन्धमा अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको उनले बताए । गाँजाको अवैध धन्दामा अन्य व्यक्तिसमेत संलग्न हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार