सेयर बजारमा एकै दिन दुई रेकर्ड : १४५ अंकको गिरावट, झन्डै २४ अर्बको कारोबार

बुधबार, २३ साउन २०८१
काठमाडौँ  : नेपाली सेयर बजारमा मंगलबार एकै दिन दुईवटा नयाँ रेकर्ड कायम भएको छ । सेयर बजार हालसम्मकै सबैभन्दा बढी अर्थात् एक सय ४५ अंकले घट्यो, अर्कोतर्फ सबैभन्दा बढी कारोबार अर्थात् २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको किनबेच भयो । कारोबार सुरु भएदेखि नै खरिदको तुलनामा बिक्री चाप बढी भएपछि उच्च अंकले गिरावट आएको छ । एकै दिन यति ठूलो अंकले सेयर परिसूचक नेप्से घटेको यो हालसम्मकै पहिलो भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । यसअघि ०७७ मंसिर २१ आइतबार एकै दिन नेप्से एक सय २३.३५ अंकले घटेको थियो । सोमबार करिब ४१ अंकले बढेर दुई हजार सात सय ९६ अंकमा बन्द भएको नेप्से परिसूचक मंगलबार एक सय ४५.०५ अंक अथवा ५.१८ प्रतिशत घटेर दुई हजार छ सय ५१.३२ अंकमा ओर्लेको छ ।
मंगलबार सेयर बजारको गिरावटलाई फरक–फरक विश्लेषण गरिएको छ । कसैले छोटो समयमा करिब सात सय अंक बजार बढिसकेकाले अहिले ‘करेक्सन’ (लामो वृद्धि वा गिरावटपछि सेयर बजारले लिने विपरीत दिशा) भएको भन्दै आएका छन् भने केहीले सरकारबाट हस्तक्षेप हुन सक्ने आशंका पनि गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सेयर बजार अस्वाभाविक रूपमा बढिरहेको र सरकारले त्यसलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका थिए । सदनमा सांसदहरूको दबाब बढ्दै गएमा सरकारले सेयर बजारलाई हस्तक्षेप गर्न सक्ने अनुमान पनि लगानीकर्ताहरूले गर्न थालेका छन् । सोमबारको बैठकमा सेयर बजारमा अस्वाभाविक कारोबार देखिएको भन्दै पूर्वअर्थमन्त्री प्रकाशशरण महतले प्रश्न उठाएका थिए । ‘अहिले बजारको वृद्धि स्वाभाविक छैन, केही व्यक्तिले चलखेल गरेका प्रशस्त सम्भावना देखिएको छ । केही कम्पनीहरूको सेयर मूल्यको वृद्धि हेर्दा त्यो कुनै पनि पक्षबाट स्वाभाविक छैन,’ उनले भने, ‘वित्तीय अवस्था, प्रतिफल दिन सक्ने क्षमता, व्यवसाय विस्तारलगायत पक्ष निकै कमजोर भएको अवस्थामा पनि केही कम्पनीको सेयर मूल्य तीन–चार गुणासम्म बढाइएको छ । यो चलखेलका कारणले मात्र सम्भव छ ।’
कम्पनीहरूबाट सूचना चुहाएर भित्री कारोबार गर्ने र निश्चित कम्पनीको सेयर मूल्य अस्वाभाविक वृद्धि गर्ने प्रवृत्ति नयाँ नभए पनि अहिले बढिरहेको बजारमा त्यो विकृति मौलाउँदै गएको महतले बताए । ‘निश्चित व्यक्ति वा संस्थाले हल्ला गरेर सेयर मूल्य बढाउने, आम नागरिक उनीहरूकै पछि लाग्छन्, अनि नोक्सान व्यहोर्छन्,’ उनले थपे, ‘साना लगानीकर्ताको हित संरक्षणका लागि अस्वाभाविक सेयर मूल्य बढेका कम्पनीका बारेमा हामीले गम्भीर रूपमा हेर्न जरुरी छ, त्यसमा नियामक निकाय र सरकारको ध्यान जानुपर्छ ।’
सेयर ब्रोकर र लगानीकर्ताको मिलेमतोमा कम्पनीको कृत्रिम भाउ बढाएर अस्वाभाविक कारोबार गरिरहेको सांसद अमरेशकुमार सिंहले आरोप लगाए । नियामक निकाय नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन रहेको अवस्थामा सरकारले पनि आँखा चिम्लँदा बजारमा विकृति बढिरहेको उनको भनाइ छ । अनलाइनमार्फत नागरिकलाई भ्रम फैलाएर कृत्रिम रूपमा बजार बढाउने काम भएकाले सरकारले यस्ता कारोबार नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । ‘बजारमा धेरै शंकास्पद कारोबार भएका छन्,’ उनले भने, ‘कृत्रिम बजार बनाएर जनतालाई ठग्न पाइँदैन । यसमा सरकारको ध्यान जाओस् ।’ करिब एक महिना (गत असार १७ देखि हालसम्म) को अवधिमा मात्र सेयर बजार करिब सात सय अंक बढिसकेको छ । यसकारण केही अल्पकालीन लगानीकर्ताले छोटो समयमै नाफा सुरक्षित गर्न (प्रोफिट बुक) बजारमा बिक्री चाप बढाएको तर्क पनि जानकारहरूको छ । ‘मेरो बुझाइमा आजको गिरावट सामान्य हो । सोमबार प्रतिनिधिसभामा सेयर बजारमा अनावश्यक रूपमा कम्पनीहरूको मूल्य बढाइएको भनेर चर्चा भयो, यही कारणले मंगलबार बजार प्रभावित भएको जस्तो देखिन्छ,’ स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतीले भने, ‘बजार धेरै बढिसकेकाले यसअघि नै करेक्सन हुनुपर्थ्यो । संसद्मा सेयर बजारका बारे नकारात्मक टिप्पणी नभएको भए पनि बजार घट्थ्यो नै ढिलोचाँडो ।’ मंगलबार बजार धेरै अंकले घटे पनि ब्रोकर कार्यालयमा प्रवेश गर्ने लगानीकर्ताको संख्या र मनोवृत्ति हेर्दा आउँदा दिनमा बजार घट्ने सम्भावना नरहेको उनको दाबी छ । ‘पछिल्ला साताहरूमा जस्तो उच्च अंकले बजार उकालो नलागे पनि वृद्धिको बाटोमै रहने देखिन्छ,’ उनले थपे, ‘नयाँ सरकार पनि राजनीतिक स्थिरता आउँछ भनेर नागरिकको आत्मविश्वास बढेको छ, ब्याजदर घटिरहेको छ, अधिक तरलता छ । लगानीका अरू क्षेत्रमा सुधार हुन सकेको छैन । यी तत्त्वका कारणले पनि बजार बढ्छ ।’ ती कारोबारमा ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । एकै दिन यति धेरै रकमको कारोबार भएको यो पनि हालसम्मकै उच्च हो । यसअघि गत बुधबार (साउन १६ मा) २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । तीन वर्षअघि ०७८ साउन ३१ मा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । पछिल्लो एक सातामा ती सबै रेकर्ड पनि तोडेर कारोबार रकम नयाँ उचाइमा पुगेको हो । नेप्से स्थापना भएको करिब ३१ वर्ष पुगिसकेको छ । यस अवधिमा २१ अर्ब रुपैयाँभन्दा बढी रकमको सेयर किनबेच भएको जम्मा ६ दिन हुन् । जसअनुसार गत बिहीबार २१ अर्ब ७१ करोड, सोमबार २१ अर्ब ८६ करोड, यही साउन १७ मा २१ अर्ब ९१ करोड, ०७८ भदौ २ मा २१ अर्ब ३१ करोड ३४ लाख र ०७८ साउन ३१ मा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यसैगरी, साउन १४ मा १९ अर्ब ६० करोड ९१ लाख र ०७८ भदौ ३ मा २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेको तथ्यांक छ । बजारमा खरिद र बिक्री दुवैमा लगानीकर्ताको रुचि बढेकाले कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको सेयर ब्रोकरहरू बताउँछन् । एकैदिन झन्डै डेढ सय अंकले घट्नु केही अस्वाभाविक भए पनि आजको बजार ‘करेक्सन’ नै रहेको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनालीले बताए । ‘छोटो समयमा करिब सात सय अंक बढिसकेकाले अब करेक्सन चाहिन्छ भनेर विश्लेषकहरूले भन्दै आएका थिए,’ उनले भने, ‘धेरै अंकले घट्दा केही अस्वाभाविक देखिए पनि आजको गिरावटलाई धेरैले करेक्सन नै भनेका छन् ।’ यति धेरैले बजार घट्नुको पछि कुनै विशेष कारण नदेखिएको उनले बताए । ‘सोमबार संघीय संसद्मा सेयर बजारका बारेमा विषयमा सांसदहरूले प्रश्न उठाएका थिए । बढिरहेको बजारमा सरकारबाट हस्तक्षेप हुने हो कि भन्ने आशंका लगानीकर्तामा हुनसक्छ,’ उनले थपे, ‘संसद्मा कुरा उठेपछि बजार हस्तक्षेप हुन्छ कि भन्ने त्रास हो ।’ यद्यपि बजार आउँदा दिनमा बजार घट्ने सम्भावना न्यून रहेको उनले बताए । ‘बजार वृद्धिका लागि सपोर्ट हुने कुरामा परिवर्तन भएको छैन । यसकारण बजारमा सामान्य करेक्सन भए पनि धेरै गिरावटको सम्भावना कम देखिन्छ ।’ केही दबाबमा रहेका रहेका लगानीकर्ताले अझै पनि ‘पेनिक सेल’ गरे पनि अन्यथा धेरै घट्ने संकेत नदेखिएको उनको तर्क छ । मंगलबारको कारोबारमा सेयर बजारका सबै उपसमूहको परिसूचक घटे । सबैभन्दा बढी जीवन बिमाको ८ सय ७०.१४ र निर्जीवन बिमाको ६ सय ८६.८१ अंकले घट्यो । होटल तथा पर्यटन उपसमूहको परिसूचक ६ सय २४.८७ ले घट्दा उत्पादन तथा प्रशोधनको ३६९.२३ अंकले ओरालो लाग्यो । बाँकी सबै उपसमूहको कारोबार परिसूचकमा उच्च गिरावट आए पनि समग्र नेप्से हालसम्मकै उच्च अंकले घटेको जानकारहरू बताउँछन् । सामान्य अवस्थामा पनि बजारले सुधारको बाटो समातिरहेको बेला खुकुलो मौद्रिक नीतिले सकारात्मक प्रभाव पर्नु स्वाभाविक भए पनि नेप्से वृद्धिको प्रवृत्ति हेर्दा लगानीकर्ता वास्तविकताभन्दा बढी उत्साहित भएको देखिने विज्ञहरूको तर्क छ । यस अवधिमा वित्तीय अवस्था राम्रो नभएका कम्पनीहरूको पनि सेयर मूल्य आधारबिनै बढेको देखिएको हल्लाको पछि नलागी कम्पनीको आधारभूत र प्राविधिक पक्ष राम्रोसँग विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने बेला रहेको उनीहरूको सुझाव छ । ‘नत अहिले सेयर बजार यति धेरै बढिहाल्नुपर्ने कुनै कारण थियो नत बुधबार यतिधेरै घटिहाल्नुपर्ने कारण नै छ । यसको अर्थ बजारमा जोखिम उच्च छ भन्ने हो,’ स्रोतले भन्यो, ‘सेयर मूल्य बढ्ने कम्पनीको अवस्था हेर्दा नेटवर्थ ऋणात्मक भएका कम्पनीको सेयर मूल्य निकै माथि पुगेकाले जोखिम बढेको प्रस्ट हुन्छ ।’ अझै पनि सेयर बजारमा सीमित व्यक्ति वा संस्थाको चलखेल कायमै रहेकाले साना लगानीकर्ता जोखिम पर्ने सम्भावना रहने भएको सरकार र नियामक निकायले बजारको नियमन र सुपरिवेक्षण प्रभावकारी बनाउनुपर्ने उनीहरूको सुझाब छ । यस्तै, उच्च अंकले बजार घटेपछि मंगलबार सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि करिब साढे २ खर्बले खुम्चिएको छ । सोमबार बजार बन्द हुँदा ४४ खर्ब ३८ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण मंगलबार ४२ खर्ब ८ अर्ब कायम भएको छ । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार