काठमाडौँ : पोखराको सूर्यदर्शन र रूपन्देहीको सुप्रिम सहकारीबाट ३ करोड ३१ लाख र गोर्खा मिडिया नेटवर्क प्रालिबाट ५ करोड ३५ लाख रुपैयाँ लिएका रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले संसदीय छानबिन विशेष समितिमा इन्कारी बयान दिएका छन् । आफूले गोर्खा मिडिया मात्र चिनेको तर सहकारी संस्था नचिन्ने दाबी आचार्यले गरेका छन् ।
सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिमा आइतबार बयान दिँदै रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य ।
जबकि दुवै सहकारीबाट उनका नाममा रकम निकासा भएको प्रतिवेदन अदालतसमेत पुगिसकेको छ । यस्तै बचत अपचलनमा जोडिएका रास्वपा सभापति रवि लामिछानेले पनि सार्वजनिक रूपमा यस्तै दाबी गर्दै आएका छन् ।
संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियासँग सम्बन्धित विषयमा सोधपुछ गर्न भन्दै आचार्यलाई आइतबार सिंहदरबारस्थित संसद् सचिवालयमा बोलाएको थियो । रास्वपा सभापति लामिछानेका विश्वासपात्र आचार्यले गोर्खा मिडियामा ‘क्रिएटिभ डाइरेक्टर’ पदमा कार्यरत रहँदा पोखराको सूर्यदर्शन र रूपन्देहीको सुप्रिम सहकारीबाट ऋण खडा गरेर रकम लिएको दस्ताबेज भेटिएको छ । ‘श्रीमती अध्यक्ष र आचार्य सञ्चालक रहेको नोबडी प्रोडक्सनमा करोडौं रकम गएको देखिएकाले बुझ्न बोलाएका थियौं,’ समितिका एक सदस्यले भने, ‘तर आचार्यले समितिमा सहकारीसँग सम्बन्धित प्रश्नबारे आफूलाई केही थाहा नभएको बयान दिए । म गोर्खा मिडिया चिन्छु, सहकारी चिन्दिनँ । सहकारीको म सदस्य नै छैन, मैले पैसा ल्याएको छैन । मेरो हस्ताक्षर पनि छैन भनेर बयान दिए ।’
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कास्की र पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन तथा रूपन्देही जिल्ला अदालतमा दायर मुद्दाको विवरणमा आचार्यले विभिन्न मितिमा सहकारीबाट रकम लिएको उल्लेख छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट आचार्यका नाममा २ पटक गरेर २ करोड ३१ लाख १५ हजार रुपैयाँ भुक्तानी भएको देखिन्छ ।
प्रहरीको अनुसन्धानपछि गत वैशाखमा रूपन्देही जिल्ला अदालतमा दायर अभियोगपत्रमा सुप्रिम सहकारीबाट आचार्यको नाममा गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामार्फत २०७८ पुस १२ मा १ करोड ५० लाख रुपैयाँ ‘ट्रान्सफर’ भएको थियो । सेवा शुल्कबापत ६ लाख १५ हजार कट्टा गरी उक्त रकम प्रवाह भएको अभियोगपत्रमा उल्लेख छ ।
त्यस्तै सुप्रिम सहकारीबाटै २०७७ कात्तिक ६ मा आचार्यको नोबडी प्रोडक्सन प्रालिको नाममा एनआईसी एसिया बैंकमा रहेको खातामा ७५ लाख रुपैयाँ ऋण प्रवाह भएको पनि अभियोगपत्रमा उल्लेख छ । ‘ऋण प्रवाह भएपछि सहकारीलाई साँवा–ब्याज केही पनि प्राप्त भएको देखिँदैन,’ अभियोगपत्रमा भनिएको छ । सोही अभियोगपत्रमा रास्वपा सभापति लामिछानेले पनि १ करोड रुपैयाँ ऋण लिएको उल्लेख छ । तर, आचार्य र लामिछानेमाथि कुनै सोधपुछ नगरी तथा प्रतिवादी नबनाई मुद्दा दायर गरिएको थियो । प्रहरी अनुसन्धान एवं मुद्दा दर्ताका बेला लामिछाने गृहमन्त्री थिए ।
आचार्यले सूर्यदर्शन सहकारीबाट ११६–०००४६१६ खाता नम्बरमा ०७८ पुस ६ मा १ करोड ऋण लिएको पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । आचार्यले लिएको ऋणको ब्याज पुँजीकरणपश्चात् १ करोड ८ लाख ३२ हजार ४ सय ६६ रुपैयाँ तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । ऋण लिएयता आचार्यले साँवा–ब्याज भुक्तानी गरेका छैनन् ।
सुप्रिम र सूर्यदर्शन गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको नेतृत्वमा खुलेका सहकारी संस्था हुन् । गोर्खा मिडियाबाट सञ्चालित ग्यालेक्सी टीभी अहिले बन्द छ । टीभीका अध्यक्ष राई फरार छन् भने तत्कालीन प्रबन्ध निर्देशक तथा सञ्चालक लामिछानेले आफूलाई केही पनि थाहा नभएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।
सहकारीहरूबाट करिब ९६ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा आएकोमा ८० करोड ३१ लाख रुपैयाँ सार्दा लामिछाने सो कम्पनीमा १५ प्रतिशत सेयर लगानीसहित प्रबन्ध निर्देशक थिए । तर सर्वसाधारणको यति ठूलो रकम आफू प्रबन्ध निर्देशक रहेको बेला निजी कम्पनीमा आएको विषयमा लामिछानेले उन्मुक्ति खोजेका छन् । जबकि कुनै पनि निजी कम्पनीको लगानी, आम्दानी र खर्चप्रति सञ्चालक र प्रबन्ध निर्देशक जवाफदेही हुने कानुनी व्यवस्था छ । त्यसैले लामिछानेले व्यक्तिगत रूपमा सूर्यदर्शनबाट लिएको १ करोड र सुप्रिम सहकारीबाट लिएको २ करोडबाहेक उनी प्रबन्ध निर्देशक भएको बखत गोर्खा मिडिया नेटवर्कमा आएको ८० करोड रुपैयाँका लागि पनि जिम्मेवार र जवाफदेही हुनुपर्ने कानुनी बाध्यता छ ।
उता, आचार्यको नोबडी प्रोडक्सन प्रालिको खातामा गोर्खा मिडियाबाट ५ करोड ३५ लाख रुपैयाँ रकम ‘ट्रान्सफर’ भएको कागजातमा देखिन्छ । गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टर रहेका आचार्यले आफ्नो निजी कम्पनीबाट कार्यक्रम उत्पादन गरी टेलिभिजनलाई बेच्ने गर्थे । कम्पनी भने आचार्यकी श्रीमती सुरक्षा अधिकारीका नाममा स्थापना भएको देखिन्छ । उक्त कम्पनीले ग्यालेक्सी फोरके टेलिभिजनमा ‘सारेगम लिटिल च्याम्प्स नेपाल’ सञ्चालन गरेको थियो । यस कार्यक्रमको ३७ भाग ग्यालेक्सी फोरकेबाट प्रसारण गरिएको थियो । त्यसको भुक्तानी भने सूर्यदर्शन तथा सुप्रिमका बचतकर्ताको रकम लिएर नोबडी प्रोडक्सनलाई गरिएको सरकारी अध्ययन प्रतिवेदनमा उल्लेख छ । ‘यिनै प्रतिवेदनका आधारमा गोर्खा मिडिया नेटवर्क प्रालिका क्रिएटिभ डाइरेक्टर एवं नोबडी प्रोडक्सन प्रालिका सञ्चालक आचार्यसँग आइतबार बयान लिइएको हो,’ समिति स्रोतले भन्यो, ‘उहाँले हस्ताक्षरसहित दिएको बयानलाई प्रतिवेदनमा उल्लेख गर्छौं ।’
रास्वपा सहमहामन्त्री आचार्यले सभापति लामिछानेले झैं आफू सहकारीको सदस्य नभएको र कुनै ऋण पनि नलिएको दाबी सार्वजनिक रूपमा गर्दै आएका थिए । आचार्यले यसअघि भनेका थिए, ‘बुटवलको सुप्रिम सहकारीसँग मेरो कुनै कारोबार छैन । मैले ऋण लिन निवेदन पनि दिएको छैन, कुनै कागजात पनि मागिएको छैन ।’ आचार्यले तत्कालीन मेगा बैंकको चेक नं. २०१३९१८२ मार्फत नोबडी प्रोडक्सन प्रालिमा ७५ लाख रुपैयाँ जम्मा भएको भने यसअघि स्वीकार गरेका थिए । त्यस क्रममा उनले भनेका थिए, ‘हामीले कार्यक्रम उत्पादन गर्ने सम्झौताअनुसार काम सकिएपछि भुक्तानी लिएका हौं । रकम कुन संस्थाबाट आयो भन्ने जानकारी हुने विषय भएन ।’
सर्वसाधारण बचतकर्ताको उजुरीपछि प्रहरी, सीआईबी, सहकारी कार्यालय र स्थानीय तहले गरेको छानबिनमा सूर्यदर्शन र सुप्रिमका साथै काठमाडौंको स्वर्णलक्ष्मी र साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा सिधै कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ सारिएको पुष्टि भइसकेको छ । कान्तिपुरलाई प्राप्त सरकारी दस्ताबेजअनुसार काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट मात्र लगानी भन्दै ६४ करोड रुपैयाँ गोर्खा मिडियामा सारिएको छ । बुटवलको सुप्रिम सहकारीबाट १५ करोड ३१ लाख र पोखराको सूर्यदर्शन सहकारीबाट ४ करोड ५० लाख गोर्खा मिडिया नेटवर्कको खातामा गएको देखिन्छ । चितवनको साहाराबाट १२ करोड पनि गोर्खा मिडियामा सारिएको विवरण प्रहरीले संकलन गरेको छ ।
सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले अनियमिततामा जोडिएका व्यक्तिसँग सोधपुछको क्रम अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘अब केही व्यक्तिलाई मात्र बोलाउन बाँकी छ,’ उनले भने ।
आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया