कांग्रेस र एमालेद्वारा प्रदेश १ को नाम ‘कोशी’ राख्न संसदमा प्रस्ताव

बुधबार, १७ फागुन २०७९
विराटनगर । प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले संयुक्त रूपमा प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेका निरन राई समर्थक छन् । नेकपा एस र जसपाको तर्फबाट ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश नामाकरण गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता भएको छ । नेकपा ९एकीकृत समाजवादी०का सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको हो । प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गरेका हुन् । प्रदेश नामकरणका लागि एकजना प्रदेश सांसदको प्रस्तावमा दुईजना सांसदले समर्थन गरेको प्रस्ताव प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीसमक्ष दर्ता गराउनुपर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ । सभामुख गौतमले दिउँसो १ बजेसम्मका लागि नामकरण प्रस्ताव सचिवालयमा दर्ता गराउन प्रदेश सांसदलाई समय दिएका हुन् । प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुले नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम नामकरण प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एकजना सांसद छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार