ओलम्पिक पदक ल्याउन सकिन्छ भनेर हामीले प्रमाणित गरिसक्यौं। त्यसैले आगामी पारालिम्पिकको तयारीका लागि राज्यले कन्जुसाइँ गर्नुहुँदैन। पहिले पनि पलेसा अध्ययनरत विश्वविद्यालयमै मलाई पठाएर प्रशिक्षण दिने कुरा भएको थियो। पछि त्यस विषयमा राष्ट्रिय खेलकुद परिषद्लगायत सम्बन्धित निकायले चासो दिएनन्। राज्यले प्रशिक्षणको व्यवस्था मिलाइदिने हो भने आगामी प्रतियोगिता र ओलम्पिकका लागि पनि सहज हुनेछ। कविराज नेगी लामा, पारा तेक्वान्दो प्रशिक्षक२१ वर्षीया पलेसाले पेरिस पारालिम्पिकसहित ६ अन्तर्राष्ट्रिय पदक जितेकी छन्। त्यसमा तीन स्वर्ण र तीन कांस्य छ। पलेसाले नेपालमा भएको दोस्रो काठमाडौं ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोयिगता, बहराइनको मानामामा भएको एसियाली युथ पारा गेम्स र चीनको ताइयानमा पेरिस ओलम्पिककै लागि भएको एसियाली छनोटमा स्वर्ण जितेकी थिइन्। ताइवानकै प्रतियोगितामा हासिल गरेको सफलतामा पलेसाले पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्। पारालिम्पिकमा छनोट चरण पार गरेर खेल्ने पलेसा एक्लो नेपाली खेलाडी हुन्। टोकियो पारालिम्पिकमा भने उनी वाइल्ड कार्डमार्फत सहभागी भएकी छन्। यसैगरी सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो तथा चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा कांस्य जितेकी थिइन्। एसियाली पारा खेलकुदमा पलेसाले जितेको कांस्य नेपालले पाएको अहिलेसम्मकै एक मात्र पदक हो। पलेसासँग लन्डन र टर्कीमा भएको दुई विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौं एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, टोकियो पारालिम्पिकको छनोट, टोकियो पारालिम्पिक, साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ। अपभ्रंसले बनेको नाम परिवारमा नयाँ सन्तानको आगमन हुँदा सबैको मन प्रसन्न हुन्छ। सबै खुसीले गदगद पनि हुन्छन्। बधाईको ओइरो लाग्छ। तर, काठमाडौं बागबजारका प्रदीप गोवद्र्धन र मनिता गोवद्र्धन माइली छोरी पलेसा गोवद्र्धन जन्मँदा भने खुसी हुन सकेनन्। छोरीको जन्मजात बायाँ हातको हत्केला नै नभएपछि उनीहरू निकै भक्कानिएका थिए। एउटा हातको हत्केला नै नभएको छोरीको भविष्य के होला भन्ने चिन्ताले उनीहरूलाई सताएको थियो। त्यसैले उनले निकै सोचेर छोरीको नाम राखे ‘पलेस्वाँ’। नेपाल भाषामा पलेंको अर्थ कमल र स्वाँ’को अर्थ फूल हुन्छ। स्कुलका साथीहरूले यो नाम उच्चारण गर्न गाह्रो माने। धेरैले गिज्याए पनि। पछि अपभ्रंस भएर त्यो नाम पलेसा बन्न पुग्यो। आमाबुबाले पनि त्यही नाममा चित्त बुझाए। त्यही नाम अहिले नेपाली खेलकुदमा एउटा ऐतिहासिक र सफल खेलाडीका रुपमा स्थापित बन्न पुगेको छ। पढाइ कि खेलकुद ? पलेसालाई सबैभन्दा बढी सोधिने प्रश्न यही हो। यो प्रश्न सुन्नासाथ उनी मुसुक्क मुस्कुराउँछिन्। ‘सबैलाई दुईमध्ये एउटा रोजिदिए भन्ने लाग्छ। तर, म न खेलकुद छोड्न सक्छु न त पढाइ नै। पढाइ र खेलकुदलाई सँगै लिएर जान्छु’, पलेसा भन्छिन्। खेलाडीको जीवनमा सबैभन्दा कठिन काम भनेकै खेल र पढाइलाई सँगै अगाडि बढाउनु हो। स्वदेशमा रहँदा पलेसाले खेलकुद र पढाइलाई सँगै अगाडि बढाइन्। खेलकै कारण उनको पढाइमा कहिले पनि समस्या आएन। चीनको सांघाईस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनियरिङ पढिरहेकी पलेसाले पेरिस ओलम्पिकका लागि ६ महिना पढाइबाट छुट्टी लिएकी थिइन्। त्यसैले सेप्टेम्बर २० मा चीनमा फर्किएर बाँकी रहेको अध्ययन पूरा गर्ने अभियानमा उनी छिन्। ‘आर्किटेक्चर इन्जिनियरिङको पढाइ सक्न अझै दुई वर्ष बाँकी छ। अब त्यो पढाइ सकिएपछि मात्रै स्वदेश फर्किनेछु’, पलेसा भन्छिन्, ‘सरकारले प्रशिक्षणको व्यवस्था मिलाइदिएमा त्यहीअनुरूप गर्छु नभए पहिलेजस्तै ‘सेल्फ’ प्रशिक्षण गर्छु।’ उनी अर्को ओलम्पिक खेल्ने निश्चित नभए पनि सबैले आशा गरेको र आफ्नो जिम्मेवारी पनि थपिएकाले प्रशिक्षणअनुसार विचार गर्न सकिने बताउँछिन्। ‘यो पदकले ममा थप जिम्मेवारी थपिएको छ। सबैले अर्को पटक स्वर्ण नै ल्याउनुपर्छ भनेर भनिरहनु भएको छ’, उनी भन्छिन्, ‘सरकारले प्रशिक्षणका लागि व्यवस्था मिलाइदिने हो भने खेललाई निरन्तर रुपमा अगाडि बढाउन मद्दत पुग्छ। आफूले मात्रै चाहेर पनि हुँदैन।’ प्रशिक्षक कविराज नेगी लामा पनि पलेसाको कुरामा सहमति जनाउँछन्। पहिले पनि चीनमा उनी अध्ययनरत विश्वविद्यालयमा पढाएर प्रशिक्षणको व्यवस्था मिलाउने आश्वासन दिए पनि पूरा नभएको बताउँछन्। ‘ओलम्पिक पदक ल्याउन सकिन्छ भनेर हामीले प्रमाणित गरिसक्यौं। त्यसैले आगामी पारालिम्पिकको तयारीका लागि राज्यले कन्जुसाइँ गर्नुहुँदैन। पहिले पनि पलेसा अध्ययनरत विश्वविद्यालयमै मलाइ पठाएर प्रशिक्षण दिने कुरा भएको थियो। पछि त्यस विषयमा राष्ट्रिय खेलकुद परिषद्लगायत सम्बन्धित निकायले चासो नै दिएनन्’, प्रशिक्षक लामा भन्छन्, ‘राज्यले प्रशिक्षणको व्यवस्था मिलाइदिने हो भने आगामी प्रतियोगिता र ओलम्पिकका लागि पनि सहज हुनेछ।’ नेपाल तेक्वान्दो संघका अध्यक्ष राणा पारा तेक्वान्दोलाई हरेक कुरामा संघले सहयोग गरेको बताउँदै अब राज्यले पनि लगानी गर्नुपर्नेमा जोड दिन्छन्। ‘पारा तेक्वान्दोलाई अहिलेसम्म संघले नै सहयोग गर्दै आएको छ। अब संघको संहयोगले मात्रै पुग्दैन। राज्यले पनि सहयोग गर्नुपर्छ’, अध्यक्ष राणा भन्छन्, ‘पलेसासहितको टोलीलाई हामीले चार महिनाका लागि प्रशिक्षणमा पठाउन खोजेका थियौं। राज्यको सहयोग नहुँदा त्यो सम्भव भएन। र, हामीले एक महिनाका लागि मात्रै बेलायतमा विशेष प्रशिक्षणमा पठायौं। बेलायत पठाउने हाम्रो निर्णय फलदायी सावित भयो र पदक पनि जित्न सफल भयौं।’ कसरी सुरु भयो पारालिम्पिक ? दोस्रो विश्वयुद्धका बेला थुप्रै बेलायती सैनिक घाइते भएका थिए। युद्धमा सहभागी धेरै सैनिकको स्पाइनल कर्ड इन्जुरी भएको थियो। कसैको हातखुट्टा चल्दैनथियो भने कोहीको कम्मरमुनिको भागले काम गर्दैन थियो। केहीले हात केहीले खुट्टाका विभिन्न भाग गुमाएका थिए। दोस्रो विश्वयुद्धका घाइतेहरूको दिनचर्चा पिर र चिन्तामै बित्न थाल्यो। ‘अब केही गर्न सकिँदैन’ भन्ने हीनताबोधबाट उनीहरू ग्रसित भए। कुनै कुनामा थन्किएर बस्ने युद्धका घाइतेहरूलाई खेलकुदमा सक्रिय बनाउन सन् १९४८ मा सर गुडविग गुट्टम्यानको सक्रियतामा एउटा खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। त्यसमा धेरै युद्धका घाइतेहरू सहभागी भएका थिए। त्यही प्रतियोगितालाई सन् १९५२ मा निरन्तरता दिइएको थियो। यो प्रतियोगितामा बेलायतका साथै नेदरल्यान्ड्सका शारीरिक रूपमा अशक्तहरू व्यक्तिहरू सहभागी भएका थिए। यसकै विकर्षित रूपका रूपमा सन् १९६० मा इटालीको रोममा पारालिम्पिक खेलकुद सुरु भएको हो। पारालिम्पिक पनि ओलम्पिकजस्तै हरेक चार वर्षको अन्तरालमा आयोजना हुने गर्दछ। ओलम्पिक सकिएपछि पारालिम्पिक खेल सुरु हुन्छ। सन् २००४ बाट नेपालको सहभागिता सन् २००४ को एथेन्स पारालिम्पिकबाट नेपालले सहभागिता जनाउन थालेको हो। एथेन्स पारालिम्पिकमा निर्मला ज्ञवालीले एथलेटिक्सको एफ–१२ विधाअन्तर्गत महिला सटपुटमा प्रतिस्पर्धा गरेकी थिइन्। सन् २००८ को बेइजिङ पारालिम्पिकमा जितबहादुर खड्काले सहभागिता जनाएका थिए। उनले एथलेटिक्समा प्रतिस्पर्धा गरेका थिए। यसैगरी सन् २०१२ को लन्डन पारालिम्पिकमा मैयाँ विशुंखे, विक्रमबहादुर राना र मानबहादुर तामाङले एथलेटिक्समै प्रतिस्पर्धा गरेका थिए। सन् २०१६ मा ब्राजिलको रियो दी जेनेरियोमा आयोजना भएको पारालिम्पिकमा विक्रमबहादुर रानाले एथलेटिक्स र लक्ष्मी कुँवरले पौडीमा प्रतिस्पर्धा गरेका थिए। आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया