ठूला–ठूला कुर्सीमा विराजमान भएका मान्छेहरूलाई पनि कानुनी दायरामा ल्याइन्छ : मुख्यमन्त्री कार्की

मंगलबार, २७ कार्तिक २०८१
इटहरी : नेकपा एमाले नेतृत्वको सरकारले देशमा सुशासन कायम गर्न सक्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताएका छन् । ग्रामथानमा मंगलबार नेकपा एमाले मोरङद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुशासनहीन काम गर्नै कसैलाई पनि छुट दिने पक्षमा एमाले नरहेको प्रस्ट्याए । मुख्यमन्त्री कार्कीले भने, ‘कानुनविरोधी काम गर्ने कसैलाई पनि छुट छैन, जोसुकै भएपनि हामी कानुनी दायरामा ल्याउछौँ । चाहे प्रदेश संसदभित्र रहेका मानिस हुन् वा संघीय संसदभित्र रहेका मानिस हुन् । चाहे मुलुकका ठूला–ठूला कुर्सीमा विराजमान भएका मान्छेहरू हुन् सबैलाई कानुनी दायरामा ल्याइन्छ ।’ उनले अहिले चोर्न पाइनुपर्छ, लुट्न पाइनुपर्छ, हामीले गरेको ठीक हो भन्ने खालका अभिव्यक्तिहरू सामाजिक सञ्जालमा आउने गरेको बताउँदै सबै विषयलाई कानुन अनुसार टुंगोमा पुर्याउन सरकार लागि रहेको बताए । मुख्यमन्त्री कार्कीले अहिले सामाजिक सञ्जालको दुरुपयोग गरेर, फेक आइडी बनाएर, एआई प्रविधिको दुरुपयोग गरेर मुलुकको राष्ट्रियतामाथि र मुलुकका लागि लडेका नेताहरूमाथि प्रहार गर्ने काम केही व्यक्ति तथा संस्थाहरूले गरिरहेकोमा आपत्ति जनाए । यसैगरी मुख्यमन्त्री कार्कीले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा सत्ता सहकार्य गर्ने दल नेपाली कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा गर्ने बताउँदै आफ्ना उमेद्वारहरूलाई जिताउन कार्यकर्ताहरुलाई आग्रह गरे । ग्रामथानको विकासमा कोशी प्रदेश सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सक्ने जति काम यही आर्थिक वर्षमा पूरा गर्ने आश्वासन दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार