काठमाडौँ । विश्वमै खेलकुदलाई आर्थिक वृद्धि र पर्यटन विकासको ठुलो माध्यमको रूपमा हेर्ने गरिन्छ । छिमेकी देश भारतमा हुने आइपिएल नेपालका लागि झन् बलियो उदाहरण हो । मुलुकको अर्थतन्त्रमा खेलकुद प्रतियोगिताहरूको ठुलो प्रभाव रहने गरेको पाइन्छ ।
कीर्तिपुरको टियू खेल मैदानमा जारी नेपाल प्रिमियर लिग९एनपीएल०मा ठुला व्यापारिक घराना र वित्तीय संस्थाहरूले ठुलो लगानी गरिरहेका छन् ।
विज्ञापन बजार चम्किएको छ । त्यसै खेल मैदान परिसरमा फुटपाथ र चिया नास्ताको व्यापारले सामान्य नागरिकहरूको व्यापार उसैगरी मौलाएको छ ।
मङ्सिर १७ बाट सुरु भएको एनपीएलले साना तथा मझौला व्यवसायीहरूलाई राहत मिलेको छ । एनपीएलले भरिएको टीयू क्रिकेट मैदानमा मानिसहरूको ध्यान त्यहाँ सञ्चालन भएका खुद्रा पसलले उसैगरी खिचेको छ ।
क्रिकेट मैदान परिसरमा एनपीएल सुरु भएकै दिनदेखि चिया–चुरोट, चाउमिन मःम, मिठाइ, बिस्कुट, चाउचाउ, पानी, जुसलगायतका खुद्रा पसलहरूमा व्यापार मौलाएको छ ।
अघिपछि ग्राहक नपाएर सडक पेटीमा घण्टौँ प्रतीक्षा गर्ने सबै फुटपाथ व्यापारीहरू अहिले क्रिकेट मैदानमा भेटिने गरेका छन् । उनीहरूलाई भ्याई नभ्याई छ ।
उपभोक्ताहरूको थामिनसक्नु भीड छ । जाडो याम समेत भएकाले चिया, चुरोट र तातो खाजाको व्यापार खुबै चम्किएको छ ।
क्रिकेट मैदान परिसरमा मःम बेच्दै आएका दुर्गा सापकोटा कोभिडले थलिएको व्यापारलाई राहत पुगेको बताउँछन् । उनी भन्छन्, ‘एनपीएलबाट एकदम खुसी छु । विदेशी खेलाडीहरू पनि हुनुहुन्छ । अपेक्षा अनुसारकै व्यापार भइरहेको छ । मान्छेहरूको भीड दिनहुँ बढिरहेको छ । कोरानाले आपत् परेका होटल व्यवसायीहरूलाई यहाँ व्यापार गर्न दिनु नै ठुलो कुरा हो । राहत मिलेको छ,’उनले भने । सापकोटाले दैनिक सरदरमा एक सय पचासदेखि दुई सय प्लेटसम्म मःम बेचिरहेका छन् ।
क्रिकेट मैदानमै मट्का चिया बेचिरहेका छन्, कक्षा १२ मा पढ्ने भक्तिराज गिरी । गिरीले दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको मट्का चिया बेचिरहेका छन् । उनी भन्छन्, ‘बिहानदेखि साँझसम्म राम्रोसँग व्यापार गर्यो भने दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको विक्री हुन्छ । व्यापार सोचे जस्तै भएको छ । एनपीएललले नाफा गराएको छ । मलाई मात्रै होइन सबैलाई राम्रो भएको छ ।’
अघिपछि नेपाल प्रहरी, नेपाल आर्मीको कार्यालय अगाडि बसेर फुटपाथ व्यापार गर्दै आएकी मञ्जु तामाङ महर्जन व्यापार ठिकै भएको सुनाउँछिन् । ‘बदाम, चाउचाउ, पानी, चुइगम्म, , चकलेटलगायत बेचिहेरेको छु । व्यापार ठिकै छ । अहिले सरदरमा दैनिक सय रुपैयाँ सम्मको व्यापार हुन्छ,’उनले भनिन् ।
हुम्लाका गोपाल जेठरा आइतबारदेखि शुक्रवारसम्म अन्य काम गर्छन् । तर एनपीएल सुरु भएदेखि उनी शनिवार–शनिवार टीयू मैदानमा बदाम, पानी बेचिरहेका छन् । उनी भन्छन्, ‘शनिवार मात्रै बेच्छु म चाहिँ । अरू दिन अफिस जान पर्छ । व्यापार राम्रै छ । सामान्य खर्च जुटेको छ ।’
ह्यापीडेन्ट चुइगमको दैनिक दुईदेखि तीन हजारसम्मको व्यापार गरिरहेकी विनीता निरौला स्टल नै राखेर राम्रो आम्दानी गरिरहेको सुनाउँछिन् । उनी भन्छिन्,‘हाम्रो सेल्स राम्रै छ । दैनिक दुई देखि तीन हजारसम्मको व्यापार भइरहेको छ ।’
एनपीएलले क्रिकेटसँगै व्यापार व्यवसाय पनि चलायमान बनाउन आयोजक क्यानले बताउँदै आएको थियो । एनपीएलबाट एक अर्बको अर्थतन्त्र चलायमान बनाउने आकलन पनि गरिएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया