विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन आग्रह गरेका छन् ।
सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै मेयर कोइरालाले निर्वाचित भएर आएपछि सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । हाल महानगर फुटपाथ नियन्त्रण र सहरको सुन्दरतामा ह्रास आउने गरी जथाभावी निर्माण गरिएका पसल अगाडिका संरचना हटाउने अभियानमा केन्द्रित भएको मेयर कोइरालाले बताएका छन् ।
सरफाईमा जस्तै फुटपाथ खाली गर्ने र अवैध संरचना हटाउने अभियानमा पनि विराटनगरवासी र व्यापारीको अत्यन्तै राम्रो सहयोग रहेको मेयर कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
मेयर कोइरालाले विराटनगरको चौतर्फी विकासका लागि नगरबासीको साथ र सहयोग आवस्यक रहेको बताउदै संघीय र प्रदेश सरकारसँग समन्वय गरेर बजेट व्यवस्थापनका लागि पहल भइरहेको उल्लेख गरे ।
भौतिक संरचनाको निर्माण पनि योजनाबद्ध रुपमा अगाडि बढाइरहेको केही ठूला योजनाहरू ठेक्का प्रक्रियामा रहेको उनले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । महानगरको सौन्दर्यकरणका लागि फुटपाथ नियन्त्रण र जथाभावी निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सबै वडामा सञ्चालन गरिने मेयर कोइरालाको भनाइ छ ।
प्रतिक्रिया