आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउनुपर्छ : प्रधानमन्त्री

सोमबार, २१ माघ २०८१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्यान सम्पूर्ण रूपमा युवाहरूलाई आधुनिक र वैज्ञानिक शिक्षासँग परिचित गराउने तर्फ भएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित युवाहरूसँगको अन्तरक्रियामा उनले नेपाल कोही भन्दा कम नभएको भन्दै युवाहरूलाई दक्ष र विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने तर्फ सरकारको ध्यान रहेको बताएका हुन् । उनले भने, ‘मेरो र मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रूपमा आज विकास गर्ने, आजको बालबालिकाहरूलाई तीव्र रूपमा हुर्काउने, आजको आधुनिक र वैज्ञानिक शिक्षासँग परिचित मात्र होइन, दक्ष बनाउने विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने तर्फ छ । हामी कोहीभन्दा कम छैनौँ, हामीसँग हाम्रो महान् पुर्खाको इतिहास छ ।’ उनले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने सङ्कल्प गरेको बताए । उनले भने, ‘विदेशमा गएर नेपाली युवाले अरूका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ । हामीसँग एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ । यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनाउनुपर्छ ।’ उनले ज्ञान भूमि र तपो भूमिका साथै पुर्खाको गौरव गाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधीनमा बस्नु नपरेको स्मरण गराउँदै विद्यार्थीहरूलाई देशभक्तिलाई शिरमा बोकेर इमानदार बनेमा सफलतामा पुग्न सकिने सुझाव दिए । उनले विद्यार्थीहरू अरूको बहकाबमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउनु लाग्नुपर्नेमा जोड दिँदै युुवाहरुका लागि स्वदेशमै अवसरहरूको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार