नो केबलकार आन्दोलन: रुख ढालेर सडक अवरोध, प्रसव व्यथाले च्यापेकी बिरामीको बिचल्ली

मंगलबार, २२ माघ २०८१
पाँचथर : पाथीभरामा केबलकार निर्माण प्रक्रियाको विरोध गरिरहेको नो केबलकार समूहले आज राती मेची राजमार्ग अन्तरगत पाँचथरको जोरपोखरी –गोपेटार खण्डमा रुख ढालेर सडक अवरोध गरेका छन् । सडक अवरोधका कारण हिलिहाङ २ को सिंहापुरदेखि सदरमुकाम फिदिम ल्याइँदै गरेकी १८ वर्षीय कल्पना जोगी सहितका बिरामीको बिचल्ली भएको छ । रातको २ बजे बिरामी लिएर आउँदै गरेका चालक नुपु सेर्पाले बाटोमा रुख ढलेको भेटिएपछि बिरामीलाई बोक्ने एम्बुलेन्स बिहान सम्म सडकमै रोकिएका छन् । एम्बुलेन्स चालक सेर्पाले रुख ढलेको र एम्बुलेन्समा बिरामी चिच्याइरहेको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । चार वटा रुख ढालेर बाटो अवरुद्ध गरिएकाले सुत्केरी व्यथाले चापेकी ती महिलालाई पुनः गोपेटार फर्काइएको छ । अवस्था केही जटिल रहेकाले गोपेटारमा बिहानसम्म पनि प्रसूति गराउन नसकिएको त्यहाँका स्वास्थ्यकर्मीहरुले जनाएका छन् । अवरुद्ध रुख प्रहरीले अवरोध हटाउने प्रयास गरिरहेको छ । बाटो खुलेसँगै पुनः बिरामीलाई फिदिम पठाउने तयारी भइरहेको बताइएको छ । १८ वर्षीय जोगीलाई सोमबार बिहानैदेखि प्रसूति व्यथाले चापेको थियो । माघ १५ देखि मेची राजमार्ग र तमोर कोरिडोर बन्द गर्दै आएको नो केबलकार समूहले आजदेखि अरुण पूर्वका ९ जिल्लामा आम हडतालको आह्वान गरेको छ । सरकारसँग हिजोदेखि वार्ता गरे पनि बन्दलाई यथावत् राख्ने बन्द कर्ता मध्येको नेपाल आदिवासी जनजाति महासङ्घका पाँचथर अध्यक्ष सागर केरुङले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार