‘...त्यसपछि रुखमा बाँधेर बुबालाई गोली हानेर मारे’

बुधबार, २३ माघ २०८१
त्यसबेलाको घटना आज सम्झिन नपरोस् जस्तो लाग्छ । जुनबेला बुबा (शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरिए) को घटना हुँदा माघ महिना थियो । २०५८ माघ ३ गतेको घटना हो । त्यतिबेला म लमजुङको घरमा नै थिए । त्यो समयमा म काठमाडौंमा पढ्ने पढाउने काम पनि गर्थे । जाडो बिदा भएकाले म घर गएको थिएँ । माघको ४ गते काठमाडौं आउने योजना थियो । ३ गते दिउँसो त्यो घटना घटयो । उहाँलाई स्कुलको कक्षा कोठाबाटै नकावधारीहरुले लिएर गएको कुरा सबैभन्दा पहिले छिमेकीहरुले खबर गर्नुभएको हो । हामी घरमा भएपनि लगेको थाहा भएन । घटना भएपछि मात्र थाहा भयो । त्यतिबेला देशैभरि संकटकालीन अवस्था थियो । माओवादीहरुको सहरमा भन्दा बढी गाउँमा दबदबा थियो । स्कुलमा त्यतिबेलाको हेडसर छोडेर विस्तापित हुनुभएको थियो र बुबा त्यतिबेला कार्यवाहक हेडसर हुनुहुन्थ्यो । माघको २ गते जिल्ला शिक्षा कार्यलयले बुवालाई बोलायो । बुवा गएर हेडसरको पत्र बुझेर आउनुभयो र ३ गते व्यवस्थापक समितिको बैठक राखेर अनुमोदन गराएर हेडसर हुने योजनामा हुनुहुन्थ्यो । बेलुकीको समयमा व्यवस्थापन समितिको बैठक बस्दै थियो । तर दिउँसो १ बजे नै उनीहरु आएर अपहरण गरे । आधा घण्टा माथि अर्थात मेरो घरको आडकै ठाडो बाटो लगेर गएछन् । अनि रुखमा बाँधेर हत्या गरेछन् । घरमा आमा, बहिनीहरु र मैले ३ बजेतिर मात्रै थाहा पाएका हौँ । उनीहरुले बुबालाई सबै शिक्षकहरुको २५ प्रतिशत तलब संकलन गरेर दिनु भनेका थिए तर नदिने सल्लाह भएछ । नदिने भन्ने सल्लाह भएपछि बुबालाई आफ्नो भएपनि दिनु भनेका थिए रे । नदिने सल्लाह भएकाले साथीहरुलाई धोका दिन मिल्दैँन् र म दिन्न भन्ने कुरा गर्नु भएको रहेछ । दोस्रो आरोप भनेका संस्कृत पढाएको भन्ने आरोप पनि कतै कतै सुनिन्छ । संस्कृत बढाउने कुरा राज्यको नीति नै थियो । एउटा व्यक्तिले गर्ने वा नगर्ने कुरा थिएन । बुबाको हत्याको अरु कारण छैन् । लेबी नदिएको र संस्कृत पढाएको आरोप मात्र थियो । हामी बसेको आसपासको क्षेत्रमा माओवादीको प्रभाव थिएन, त्यही भएर त्यो ठाँउमा भएका प्रभावशाली व्यक्तिहरुलाई हटाउने वा हत्या गर्ने हो भने हाम्रो कब्जा हुन्थ्यो भन्ने मनसायले हत्या गरेको पनि देखिन्छ । माओवादीले मारेपछि सुराकी भन्ने चलन पनि थियो, त्यो पनि आरोप छ । यही विभिन्न कारणले उनीहरुले आफ्नो अभियानमा अवरोध ठानेको हुनाले बुबाको हत्या गरे । व्यक्ति हत्या र हिंसामा मेरो समर्थन छैन्, चन्दा पनि दिन सक्दिन भन्ने बुबाको विचार थियो । बुबालाई लिएर जाने बेलामा मुकुन्डो लगाएर माओवादीहरु आएका थिए भन्ने सुनेको हो । उनीहरु आएर बुबा पढाउने स्कुल पाणिनी संस्कृत माध्यमिक विद्यालय हो । त्यहाँ गएर कक्षा कोठामा पढाइरहेको अवस्थामा विद्यार्थीहरुकै अगाडि हात, खुट्टा बाँधेर १० मिनेट केही कुरा गर्नुछ, कुरा गरेर फिर्ता लिएर आउँछौ भनेर लिएर गएका थिए रे । हामीले घटना भएपछि मात्र थाहा पाएका हौँ । भौतिक र मानसिक यातना पनि भयो बुबालाई, आधा घण्टाभन्दा बढीको बाटो बाँधेर हिँडाएर लगेका रहेछन् । पाइला धेरै चाल्न नसक्नेगरी दुवै खुट्टामा र पछाडिपट्टी हात बाँधेर लिएर गएका थिए रे । अनि डाँडाको उतिसको रुखमा बुबाले नै लगाउनु भएको गलबन्दीले रुखमा बाँधेर त्यसपछि गोली हानेर हत्या गरेका रहेछन् । उहाँको हत्यापछि काजकिरिया घरमा नगर्ने, त्रास छ भन्ने थियो । तर हामीले घरमै गर्ने भन्यौँ । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय गएर उजुरी हाल्यौँ । घटनाको छानबिन, दोषिलाई कारबाही भनेर माग पनि गरेका थियौँ । त्यो बेला हालेको उजुरी आजको दिनसम्म पनि त्यसको केही सुनुवाई भएको छैन् । मानव अधिकार आयोग, सत्य निरुपण आयोगमा ०७२ सालमै उजुरी हाल्यौँ । आज २३ वर्ष वितिसक्यो कुनै सुनुवाई भएको छैन् । यतिका वर्षदेखि अभियानकै रुपमा लागि रहेको छु, केही भएको छैन् । भनेपछि हजारौं पीडितहरुको सुनुवाई राज्यले कहिले गर्ला ? सरकार यसमा कति पनि गम्भीर, इमान्दार, संवेदनशील भएर यतातर्फ लागेकै छैन् । (सशस्त्र द्वन्द्वकालमा लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई २०५८ माघ ३ गते तत्कालीन माओवादी कार्यकर्ताले विभत्स तरिकाले हत्या गरेका थिए । अधिकारीका छोरा सुमन अधिकारीसँग गरिएको कुराकानीमा आधारित ।)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार