क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

बुधबार, २३ माघ २०८१
पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् । बुधवार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने उनले सुनाए । नेपालमा क्यान्सरबाट हुने मृत्युदर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै पौडेलले यसको निर्मुलीकरणमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । तथ्यांकअनुसार नेपालमा दैनिक ६ महिलाको मृत्यु हुन्छ । त्यसमध्ये ४ जनाको पाठेघरको क्यान्सरबाट मृत्यु हुन्छ । ‘यो सामान्य तथ्याङ्क होइन । क्यान्सर खानपान, वातावरण जस्ता कारणले बढेको छ,’ पौडेलले भने ,‘यो रोगको नियन्त्रण गर्ने र निर्मूल गर्ने उद्देश्य छ ।’ पौडेलले नेपालको भविष्यलाई पाठेघरको क्यान्सरबाट बचाउन खोप अभियान थालिएको बताए । ‘भविष्य यो खोपले बचाउँछ । खोपबाट मात्र पूरा क्यान्सर नियन्त्रण हुँदैन,’ उनले भने ,‘१४ वर्ष माथिका महिलाहरूको क्यान्सरको स्क्रिनिङ गर्ने र उपचार अभियान सरकारले चलाउँछ ।’ पौडेलले केही हप्तामा क्यान्सर रोगीलाई दिने किमो निःशुल्क बनाउने घोषणा गरे । ‘निरोधात्मक र रक्षात्मक काम गर्न सकिएको छैन । उपचारमा मात्र काम गरेका छौँ । अब सरकारले उपचारसँगै बिरामी हुन नदिने क्षेत्रमा काम गर्छ,’ पौडेलले भने । मन्त्री पौडेलले समाजवाद स्वास्थ्यबाट मात्रै आउने भन्दै स्वास्थ्य क्षेत्र बढी सुधार्नुपर्ने बताए ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार