विराटनगर : विराटनगरमा नेपालका लागि स्विस सरकारका प्रतिनिधि हेड अफ कर्पोरेशन म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग भेटवार्ता गरेका छन्। उक्त भेटवार्ता मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको हो।
भेटवार्ताका क्रममा मुख्यमन्त्री कार्कीले स्विस सरकारले नेपालमा गरेको दीर्घकालीन सहयोगको प्रशंसा गर्दै नेपाल र स्विस सरकारबीचको ७५ वर्ष पुरानो सम्बन्धलाई अझ प्रगाढ र विस्तारित बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले नेपालको संघीयता र संविधान कार्यान्वयनमा स्विस सरकारले पुर्याएको योगदानलाई उच्च मूल्यांकन गर्दै वित्तीय संघीयतालाई बलियो बनाउन स्विस सरकारको भूमिकालाई प्रशंसनीय बताए। साथै, उनले आगामी दिनमा थप सहयोग आवश्यक रहेको औंल्याए।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको आगामी योजना बारे जानकारी गराउँदै लगानी सम्मेलन, पर्यटन वर्ष, र चिया सम्मेलनजस्ता परियोजनाहरूले कोशी प्रदेशलाई समृद्ध बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले यी योजनाहरूमा स्विस सरकारसँग सहकार्यको अपेक्षा राखेका थिए।
स्विस सरकारका प्रतिनिधि म्याथिस मेयरले संघीयता बलियो बनाउन र प्रदेश विकासका लागि स्विस सरकार सधैं तयार रहेको बताए। प्रदेश सरकारले सात वर्ष पूरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै मेयरले प्राविधिक शिक्षा र अन्य रणनीतिक परियोजनाहरूमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, कोशी प्रदेशमा स्विस सरकारले सञ्चालन गरेका परियोजनाहरू सफलतापूर्वक कार्यान्वयन भइरहेकोमा खुसी व्यक्त गरे।
मेयरले राजस्व वृद्धि र पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारको प्रयासको प्रशंसा गर्दै यसका लागि निरन्तर सहयोग रहने बताए।
भेटवार्तामा कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मा, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जीवन कार्की, र सल्लाहकारहरू रवि खनाल, डा. मोहन सुवेदी, र विक्रम लुइटेलको पनि उपस्थिति थियो।
प्रतिक्रिया