काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टी एकता घोषणा हुनुअघि नै विभाजनमा परेको छ। विभिन्न नौ दल र समूहबिच बुधबार (आज) पार्टी एकता घोषणा हुन लागिरहेका बेला माओवादी केन्द्र विभाजित भएको हो।
एकता घोषणा हुनु एक दिनअघि मङ्गलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मा सहितका नेताहरूले पार्टी परित्याग गरेका छन्। शर्मा सहित पूर्व सचिव राम कार्की लगायतका नेताले पनि माओवादी परित्याग गर्दै ‘प्रगतिशील अभियान’ सञ्चालन गर्ने घोषणा गरेका छन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा भएको १० वर्षे सशस्त्र विद्रोह (माओवादीले जनयुद्ध भन्छ) का चार जना डेपुटी कमान्डर मध्येका शर्मा पहिलोपटक प्रचण्डसँग राजनीतिक रूपमा अलग भएका हुन्। उनले माओवादी केन्द्रका संयोजक प्रचण्ड नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको नीतिमा ‘लम्पसार परेको’ आरोप लगाउँदै पार्टी छाडेका हुन्।
शर्माले देशव्यापी रूपमा प्रगतिशील अभियान सञ्चालन गर्ने र देशको नेतृत्व युवा पुस्ताले लिनुपर्नेमा जोड दिए। ‘अब देशव्यापी रूपमा युवा पुस्तालाई जोडेर अभियान चलाउनेछौँ,’ उनले भने। ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ नारासहित शर्मा र कार्कीले समाजवादी ऐक्यबद्धताको आह्वान गरेका छन्।
शर्माले शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै देशलाई नयाँ समाजवादी दिशातर्फ लैजान सबै प्रगतिशील शक्तिलाई एकजुट गराउने विश्वास व्यक्त गरे। ‘विद्रोह हरेक पीडित, उत्पीडित र बेवास्ता गरिएको जनताको अधिकार हो। अब पुराना गल्तीबाट सिक्दै समाजवादी ऐक्यबद्धतामा नयाँ बाटो खोज्ने हो,’ उनले भने।
राम कार्कीले नेपाली कम्युनिस्ट आन्दोलनभित्रको गुटबन्दी, व्यक्तिवाद र अवसरवादले आन्दोलन कमजोर पारेको बताए। ‘जनताको अपार विश्वास पाएको वाम आन्दोलन नेताहरूको जबाफदेहिताको अभावले निराशामा परिणत भयो। अब वैचारिक शुद्धता, आत्मसमीक्षा र सङ्गठनात्मक नवजीवनमार्फत नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्छ,’ उनले भने।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आयोजक कमिटीको मङ्गलवारको बैठकले विभिन्न नौ वाम घटकबिच हुने पार्टी एकतालाई अनुमोदन गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वामपन्थी शक्तिको एकता आवश्यक भएको उनको भनाइ छ।
संयोजक प्रचण्डले बैठकमा सम्बोधन गर्दै वाम पार्टीबिचको एकताले समाजवादी क्रान्तितर्फ अघि बढ्ने वातावरण बनेको बताए। उनले ‘जेनजी आन्दोलन’ लाई समाजवादी क्रान्तिको रूपमा संश्लेषण गर्नुपर्नेमा जोड दिए।
प्रचण्डले पार्टी छाडेका जनार्दन शर्मालाई एकताको प्रक्रियामा सहभागी हुन र निर्णय पुनर्विचार गर्न आग्रह गरे। ‘तपाईँ फर्किनुस्, सँगै अघि बढ्नुपर्छ,’ उनले भने।
विभिन्न नौ कम्युनिस्ट दलबिच बुधबार (आज) पार्टी एकता घोषणा हुँदैछ। ती दलले आइतबार संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, सुवासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी), चिरन पुन नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी), र प्रेमबहादुर सिंह नेतृत्वको नेकपा (समाजवादी) बिच पार्टी एकता घोषणा हुने भएको हो।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया