काठमाडौं । नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५’ शुक्रबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित एक औपचारिक समारोहमार्फत महोत्सवको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सरकार र निजी क्षेत्र समान रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले लोकतन्त्रमा सबै वर्गका मानिसलाई समान अवसर प्राप्त हुने बताएर प्राचीन धरोहर र संस्कृतिको संरक्षण साझा दायित्व हुने उल्लेख गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवलाई नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए । उनले यसलाई वार्षिक क्यालेन्डरमा समावेश गर्दै आगामी वर्षहरूमा अझ व्यवस्थित र विस्तारित रूपमा आयोजना गर्ने योजना रहेको जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्वतीय र साहसिक पर्यटनकै लागि मात्र परिचित नेपाललाई यस महोत्सवमार्फत कला र संस्कृति सम्पन्न देशको रूपमा प्रस्तुत गर्न सकिने विश्वास व्यक्त गरे । उनले यसरी सांस्कृतिक प्रदर्शनीमार्फत पर्यटकलाई आकर्षित गर्न सकिने उल्लेख गर्दै पर्यटन आम्दानी र समृद्धिमा प्रत्यक्ष योगदान पुग्ने बताए ।
नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले महोत्सवलाई अन्तर्राष्ट्रिय स्तरमै ‘वैश्विक सांस्कृतिक पर्व’को रूपमा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए ।
काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थानमा २३ दिनसम्म चल्ने महोत्सवमा ४० भन्दा बढी कार्यक्रम हुनेछन् । जसमा १५४ कलाकारका २७३ कलाकृति प्रदर्शनीमा राखिनेछन् । साथै, सांस्कृतिक प्रदर्शनी, कला–कौशल, संगीत–नृत्य, परम्परागत परिकार र जीवित संस्कृतिको अनुभव गर्ने अवसर उपलब्ध हुनेछ ।
नेपाल पर्यटन बोर्ड, नेपाल आर्ट काउन्सिल र नेपाल होटल व्यवसायी संघको आयोजना तथा काठमाडौं उपत्यका र निजी क्षेत्रको सहकार्यमा इन्द्र जात्राको अवसरमा सुरु भएको महोत्सव असोज ११ गतेसम्म चल्नेछ । “नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव” भन्ने नारासहित सुरु भएको यो महोत्सवले उपत्यकाका पुराना शहरलाई उत्सवमय बनाउने र नेपालको सांस्कृतिक गौरवलाई विश्वमञ्चमा पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया