इटहरी । सुनसरीको इटहरीमा खेलिरहेका एक बालकलाई निर्माणाधीन कम्पाउन्ड गेटले किच्दा गम्भीर घाइते भएका छन्।
इटहरी उपमहानगरपालिका १७ सुरक्षा मार्गमा सोमबार साँझ करिब ५ बजे अन्दाजी १२/१३ वर्षीय रिदम आचार्यलाई छिमेकी नवराज सिग्देलको घरको कम्पाउन्डभित्र खेल्दै बाहिर निस्कने क्रममा अचानक गेट ढलेर किचेको थियो।
घटनापछि स्थानीयले तुरुन्तै उद्धार गरी उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याएका थिए।
चिकित्सकका अनुसार उनको टाउको, ढाड तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनी हालसम्म बोल्न नसक्ने अवस्थामा रहेको र गम्भीर स्वास्थ्य अवस्थाका कारण आइसियुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर दुर्घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ।
पछिल्लो समय निर्माणाधीन संरचनाको कारण दुर्घटना बढ्दै गएकाले प्रहरीले सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।
प्रतिक्रिया